Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजदरमा २५ लाखसम्मको ऋण दिन्छ- उद्योग मन्त्री भण्डारी

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजदरमा २५ लाखसम्मको ऋण दिन्छ- उद्योग मन्त्री भण्डारी

आर्थिक पत्र
शनिवार, जेठ १९ २०८१
  • भक्तपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग सञ्चालनका लागि सरकारले सस्तो ब्याजदरमा २५ लाखसम्मको ऋण उपलब्ध गराउने बताएका छन् ।

    राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले उद्योग मन्त्रालय र अस्ट्रेलियन एड युएनडिपीको सहयोगमा भक्तपुरमा आयोजना गरेको चारदिने राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भण्डारीले दुईदेखि पाँच प्रतिशत ब्याजमा उद्योगीलाई उक्त ऋण सरकारले उपलब्ध गराउने उल्लेख गरे । स्वदेशी उत्पादनका लागि उद्योग सञ्चालनमा अग्रसर हुन उनले आग्रह गरे । 
    मन्त्री भण्डारीले भने, “स्वदेशी वस्तु उत्पादन र उपभोगमा सरकारको बढी चासो छ, स्वदेशी वस्तुलाई सरकारले प्रोत्साहन गरेको छ । सरकारी निकायमा प्रयोग हुने कलम, डायरी, जुत्ता, लुगा जस्ता स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर सरकारले खरिद गर्छ ।

    लघु तथा साना उद्यमीलाई सरकारले चासो लिएर सुविधा दिएको उल्लेख गर्दै उनले सरकारका लागि ठूला र साना उद्योगी बराबर भएकाले सानोले महत्व नपाउने भन्ने नहुने बताए । मन्त्री भण्डारीले विदेशबाट फर्केका युवालाई लघु उद्योगमा रोजगार दिने, युवा परिषदबाट पनि अगाडि बढाउने एवं एउटा पालिकामा १० देखि २० लघु उद्योगलाई अगाडि बढाउने सरकारले नीति अगाडि सारेको बताए ।

    कार्यक्रममा राष्ट्रिय लघु उद्यमी महासङ्घका उपाध्यक्ष रीता लामिछानेले लघु उद्योगको क्षेत्र सानो भए पनि ठूलो उद्योग जत्तिकै योगदान रहेको चर्चा गर्दै युवालाई विदेश पलायन हुनबाट रोक्न लघु उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । उनले साना उद्योगलाई जोगाउन सकेन भने सरकारले रोजगार बढाउन नसक्ने र युवा पलायन हुने भएकाले लघु उद्योग जोगाउन सरकार लाग्नुपर्ने बताए । 

    राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालका अध्यक्ष केशा परियारले आफू रक्त क्यान्सरबाट पीडित हुँदासमेत २०औँ वर्षदेखि स्थानीय स्रोतको उत्पादन गर्दै आएको बताइन् । उनले ऐन, नियमावलीको नीतिले विगत दुई वर्षदेखि विभिन्न मन्त्रालय, उद्योग वाणिज्य समितिबाट साना उद्यमीमाथि अन्याय गरेको बताइन् । राज्यले ठूला व्यवसायीलाई मात्रै कर छुट, भ्याट छुट, कर फिर्ता, ऋणमा ब्याज छुटलगायत बजेट व्यवस्थापनको विभिन्न नीतिहरु अगाडि सारे पनि साना उद्यामीका माग बजेटमा नसमेटिएको बताइन् ।

    प्रदर्शनीमा साना तथा लघु उद्यमीहरुले उतपादन गरेको लत्ता कपडा, गलैँचा, खेलौना, टोपी, अल्लोको सामग्रीलगायत विभिन्न सामानको प्रदर्शनी तथा बिक्री गरिएको थियो । मेला जेठ २१ गतेसम्म सल्लाघारीस्थित इम्पेरियर बैङ्क्वेटमा सञ्चालन हुने र विशेष छुटमा घरेलु उत्पादनहरु बिक्री हुने उनले बताइन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार