Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

खरिद बिल नदेखाउने फर्मलाई जरिवाना

खरिद बिल नदेखाउने फर्मलाई जरिवाना

आर्थिक पत्र
बुधवार, आश्विन २ २०८१
  • वीरगञ्ज (पर्सा)। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको नेतृत्वमा भएको संयुक्त बजार अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरित कार्य गर्ने फर्मलाई जरिवाना गरेको छ।

    बजार अनुगमनको क्रममा खरिद बिल नदेखाउने र अनुगमनमा अवरोध गर्ने सात फर्मलाई नगद जरिवानासहित कारबाही गरेको हो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त प्रमुख सुनिल चौरसियाले अनुगमनको क्रममा सात वटा फर्म तथा पसललाई कारबाही गरेको जानकारी दिए।

    ‘संयुक्त टोलीले वीरगञ्ज बजार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेकाले सोही ऐनको दफा ३९ बमोजिम छ वटा फर्मलाई नगद जरिवाना गरिएको छ’, उनले भने, ‘एउटा फर्मलाई सामान्य जरिवाना गरिएको छ।’

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन, खाद्य तथा प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी, वीरगञ्ज उद्योग वाणिज्य संघ र उपभोक्ता हित संरक्षण मञ्चसहितको संयुक्त अनुगमन टोलीले वीरगञ्ज बजारको अनुगमन गरेको थियो।

    संयुक्त अनुगमन टोलीले कारबाहीमा परेकालाई जरिवाना रकम सात दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलीप खंगखत्वेले चाडपर्वको बेलामा उपभोक्तासँग बढी मूल्य लिएर गुणस्तरहीन वस्तु बिक्री नगर्न सबै व्यापारी तथा व्यवसायीलाई अनुरोध गरेका छन्।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको मधेस प्रदेशका आठ जिल्ला र चितवन र मकवानपुर अनुगमन गर्ने क्षेत्राधिकार रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार