नेपालको आर्थिक क्षेत्रको विकास र प्रबद्र्धनका लागि आमसञ्चारको माध्यमबाट योगदान गर्ने उद्देश्यले २०५७ सालबाट बजार खबर मासिक र २०५९ सालबाट इकोनोमिक पोस्ट साप्ताहिक प्रकाशन गर्दै आएका थियौँ । नेपालमा बिट पत्रकारिताको खासै सुरुवात नभएको बेला हामीले आर्थिक बिट केन्द्रीत भएर पत्रिका प्रकाशन थालेका थियौँ । कालान्तरमा बिट पत्रकारितालाई केन्द्र मानेर सञ्चार माध्यम स्थापित हुन थालेका छन् ।
प्रविधिमा आएको अभूतपूर्व फड्कोका कारण हामी फेरि पाठकसम्म पुग्ने माध्यममा केही परिमार्जित भएर अगाडि बढ्ने सोच बनाएका छौं । आजको डिजिटल युगमा अनलाइन मिडिया प्रभावशाली र अनिवार्य बन्दै गइरहेको सन्दर्भमा हामीले पनि यो दुई दशकमा छापा माध्यममा सँगालेका अनुभवसहित आर्थिकपत्र नामक डिजिटल आर्थिक पत्रिका प्रकाशन गर्ने जमर्को गरेका छौं । यो आर्थिकपत्र बजार मासिक र इकोनोमिक पोस्टको निरन्तरता हो । हामीलाई आशा छ बजार मासिक, इकोनोमिक पोस्टलाई जस्तै यसलाई पनि माया गरिदिनु हुने छ ।
हामीलाई थाहा छ बिट पत्रकारिताको चुनौति र सम्भावना कति हुन्छ । हामी चुनौतिहरुलाई पन्छाउँदै सम्भावनाहरुको खोजी गर्ने छौं । हामी समाचारको नाममा भ्रमको प्रवाह कदापी गर्ने छैनौं । न त सत्यतथ्य सूचना प्रकाशित गर्न हामी कुनै सम्झौता गर्ने छौ । हामी बजार मासिक र इकोनोमिक पोस्ट पढेका पुराना पाठकहरुलाई निराश नपार्ने र नयाँ पाठकलाई पनि आकर्षित गर्ने सामग्री पस्किने छौं । पर्चाकारिता र पत्रकारिताको भेदलाई राम्ररी केलाएर, पत्रकारिताका मूलभूत सिद्धान्तलाई पछ्याएर हामी पाठकको विश्वास जित्नेछौं । पाठकको विश्वासमा अडिनु नै हाम्रो मन्त्र हुनेछ । यो चुनौति धान्ने हामीसँग आँट छ । तर तपाइँ पाठकहरुको रचनात्मक सुझाव, विज्ञापनदाताकाहरुको हौसला हाम्रा लागि आवश्यक छ । हामीलाई सल्लाह, सुझाव र खबरदारी गर्दै जानु होला । हामी तपाइँहरुकै सहारामा अगाडि बढ्नेछौं । धन्यवाद ।

