काठमाडौँ । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायत सबै राष्ट्रसेवकको तलब १५ प्रतिशतले वृद्धि घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बृद्धि गरिने बताएका हुन् । निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन साउन १ गतेदेखि लागू हुनेगरी तलबमानमा १५ प्रतिशतले बृद्धि गरिएको मन्त्री शर्माले बताए ।
सरकारी कर्मचारीहरुले मासिक पाउँदै आएको बेतन (भत्ताबाहेक) १५% ले तलब वृद्धि गरेपछि सबैभन्दा न्यूनतम तलब बढेको प्रथम तहका कर्मचारीको पनि ३५२०.२० रुपैयाँले बढेर करिब २७ हजार रुपैयाँ पुगेको छ। यस्तै, द्वितीय तहको करिब ३७ सय रुपैयाँले बढेर २८ हजार ३ सय ५५ रुपैयाँ पुगेको छ। तृतीय स्तरका कर्मचारीको तलब पनि करिब ३९ सय रुपैयाँले बढेर ३० हजार नजिक पुगेको छ।
यसैगरी, चौथो स्तरका कर्मचारीको हालको मासिक तलब करिब ४२ सय रुपैयाँ र पाँचौ स्तरको करिब ४६ सय रुपैयाँले बढेको छ। राजपत्र अनंकित कर्मचारीको तलब कम्तिमा ४५ सय ६० रुपैयाँदेखि बढीमा ४९ सय २० रुपैयाँसम्मले बढेको छ।
यस्तै, राजपत्रांकित कर्मचारीहरुको तलब खाइपाइ आएको बाट न्यूनतम करिब ६ हजार रुपैयाँदेखि अधिकतम १० हजार २ सय ६१ रुपैयाँसम्मले बढेको छ। यससँगै अब सरकारी कर्मचारीहरुको मासिक तलब कम्तिमा २६९९० रुपैयाँदेखि ७८६६७ रुपैयाँसम्म पुगेको छ। यसबाहेक थप दुई हजार रुपैयाँ मासिक भत्ता पनि पाउनेछन्।
तृतीय श्रेणीको ४१ हजार ९ सय ७५ रुपैयाँ हुनेछ। यस्तै, द्वितीय श्रेणीको ४६ हजार ३ सय ५७ रुपैयाँ पुग्दा प्रथम श्रेणीका कर्मचारीको ५३ हजार ३ सय ६५ रुपैयाँ पुगेको छ। सचिवको मासिक तलब ५६ हजार ५ सय ८२ रुपैयाँ पुग्नेछ भने विशिष्ट सचिवको मासिक बेतन ६६ हजार ६ सय ५२ रुपैयाँ भएको छ। यस्तै, मुख्य सचिवको ७० हजार ४ सय ६ रुपैयाँ पुगेको छ।

