काठमाडौं । सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेकी चन्द्रागिरी नगरपालिका-१४ की असिष्टेन्स सब-इन्जिनियर विजयालक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पन्त चन्द्रागिरी नगरपालिका-१४ को कार्यालय नयाँ नैकापमा कार्यरत थिइन् । पन्तलाई गत असोज १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट लिएको घुससहित नियन्त्रणमा लिएको थियो ।
पन्तले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएबापत सेवाग्राहीसँग घुस रकम लिएकी थिइन् । घुस रकम लिँदालिँदै उनलाई अख्तियारको टोलीले नगरपालिकाको वडा-१०, सतुंगलस्थित माइ फूट डेरी खाजा पसलबाट पक्राउ गरेको थियो ।
पन्तले सेवाग्राहीसँग भवन निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि घुस/रिसवत माग गरी २५ हजार रुपैयाँ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
उनीविरुद्ध २५ हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय हुन मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।


