रौतहट । चन्द्रपुर नगरपालिका वडा नं १ का स्थानीय बासिन्दा यतिबेला ३० रुपैयाँको बिजुलीको बिल तिर्न २०० रुपैयाँ खर्च गर्न बाध्य भएका छन् ।
वडा कार्यालयमा रहेको खानेपानी तथा बिजुलीको बिल तिर्ने इसेवाको काउन्टर वडा कार्यालयले बन्द गरेपछि सर्वसाधारणहरु यतिबेला मारमा परेका छन् । इसेवा काउन्टरमा कार्यरत रहेकी एक कर्मचारीलाई वडा कार्यालयले हटाएपछि सो काउन्टर बन्द भएको हो ।
गत वैशाख ३ गते खानेपानी तथा बिजुलीको महसुल तिर्ने काउन्टरमा कार्यरत सजना राईको काम सन्तोषजनक नभएको भन्दै वडा अध्यक्षले उनलाई हटाएपछि काउन्टर बन्द भएको थियो। वडा कार्यालयले काउन्टरबाट राईलाई हटाएर अर्को मान्छे नियुक्त नगरेका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर १ का स्थानीय बासिन्दाले बिजुलीको बिल तिर्नका लागि चन्द्रनिगापुर आउनुपर्ने बाध्यता आइपरेको स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेको भनाइ रहेको छ । ३० रुपैयाँको बिजुलीको बिल तिर्नका लागि अहिले पौराई बासीले २०० रुपैयाँ अटोमा खर्च गरेर चन्द्रनिगापुर स्थित विद्युत प्राधिकरणको कार्यालयमा पुग्नुपर्ने बाध्यता आइपरेको न्यौपानेको भनाइ रहेको छ ।
वडाको इसेवा काउन्टरमा कार्यरत रहेकी सजना राईलाई हटाएपछि अहिले इसेवा काउन्टर बन्द भएको छ । सो काउन्टरबाट स्थानीय बासिन्दाले खानेपानीको महसुल र बिजुलीको महसुल तिर्दै आएका थिए । सो विषयमा चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतसँग कुरा गर्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन । चन्द्रपुर नगरपालिका वडा नम्बर १ को वडा कार्यालयका विभिन्न कामको पछिल्लो समय तीव्र रुपमा आलोचना हुँदै आएको छ ।


