Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

चराङ-छोसेर सडक धमाधम स्तरोन्नति

चराङ-छोसेर सडक धमाधम स्तरोन्नति

आर्थिक पत्र
मंगलवार, बैशाख ९ २०८२
  • मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उपल्लो मुस्ताङको चराङ–छोसेर २५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ।

    विसं २०७५ मा निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसक्नुपर्ने सो सडक निर्माण कम्पनीको ढिलासुस्ती र बेवास्ताका कारण स्तरोन्नति हुन सकेको थिएन।

    आर्थिक वर्ष २०७३/७४मा जोमसोम–कोरला ११० किलोमिटर ग्राभेल सडक सात खण्डमा विभाजन गरी स्तरोन्नति सुरु गरिएको थियो। सात खण्डमध्ये जोमसोम-झैते चार खण्ड र झैते-कोरला तीन खण्ड गरी सात खण्डको ११ मिटर चौडा ग्राभेल एकैसाथ ठेक्का लागेको थियो। दुई अर्ब छ करोड लागतमा ठेक्का लागेको सडकको सात खण्डमध्ये ६ खण्ड ग्राभेल भई सडक आयोजनालाई हस्तान्तरण भएको वर्षौँ बितिसकेको छ।

    तामाङ-गौरी पावती, कोशी एन्ड न्यौपाने जेभीले ११ मिटर चौडा हुनेगरी २५ किलोमिटर चराङ-छोसेर सडक स्तरोन्नति गर्न २६ करोड लागतमा ठेक्का लिएको थियो। कम्पनीले ८० प्रतिशत भौतिक प्रगति गरी काम छाडेको थियो। काम नगरेपछि पटक/पटकको पत्राचार, ताकेता र कालोसूचीमा राख्ने जनाएपछि गत वर्षमा मात्रै ‘ज्वाइन्ट पार्टनर’ गौरी पार्वतीले कालो सूचीबाट जोगिन चराङ-छोसेर सडक निर्माण सुरु गरेको हो।

    चालु आर्थिक वर्षको असारभित्रै आयोजनालाई सडक हस्तान्तरण गर्ने गरी अधुरो सडक स्तरोन्नति भइरहेको गौरी पावती कन्स्ट्रक्सनका साइट इञ्चार्ज विष्णु अर्यालले जानकारी दिए।

    अर्यालका अनुसार चराङको भिर काट्ने काम तीन दिनभित्र सम्पन्न हुने र अन्य स्थानमा काम सकिएको छ। सडकको ९३ प्रतिशत भौतिक प्रगति भइसकेको र चराङ बजारभित्र करिब एक किमी सडकमा सडक ग्राभेल गर्न बाँकी रहेको उनले बताए।

    सडक आयोजनाका प्रमुख ध्रुव झाले चराङ-छोसेर सडकको ग्राभेल ठेक्का चालु वर्षको असारभित्रै सम्पन्न हुने दाबी गरे। योसँगै जोमसोम-कोरला ११० किमी ग्राभेल सडक पूरा हुने आयोजना प्रमुख झाले जनाए। जोमसोम-कोरला ग्राभेल सडकअन्तर्गत आयोजनाले चालु आर्थिक वर्षको असोजमा जोमसोम-कागबेनी १३ किमी दूरीमा कालोपत्र विस्तार गरिसकेको छ।

    यसैगरी, चालु आर्थिक वर्षमा कागबेनीदेखि छुसाङसम्मको करिब १० किलोमिटर ग्राभेल सडकमा कालोपत्र गर्ने नयाँ ठेक्का आयोजनाले खुलाएको छ। यसका लागि १० करोड बजेट विनियोजन भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार