कोलम्बो– विश्व बैंकका अनुसार सबैभन्दा खराब आर्थिक संकटबाट अर्थतन्त्रले ‘उल्लेखनीय सुधार’ गरेको भए पनि श्रीलंकाको करिब एक चौथाइ जनसङ्ख्या गरिबीमा बाँचिरहेका छन् ।
दक्षिण एसियाली यस मुलुकको वृद्धिले बैंकको चार दशमलव चार प्रतिशतको पूर्वानुमानलाई पार गर्दै सन् २०२४ मा पाँच प्रतिशत दर्ता गरेको छ । यो सन् २०२२ को संकटपछि पहिलो आर्थिक विस्तार हो ।
‘अर्थतन्त्र सुधार हुँदै जाँदा धेरै श्रीलंकालीहरू अझै पनि सङ्घर्ष गरिरहेका छन्। सन् २०२४ मा गरिबीको दर २४ दशमलव पाँच प्रतिशतमा खतरनाक रूपमा उच्च रहेको छ’, बैंकले मुलुकको पछिल्लो अपडेटमा भन्यो, ‘श्रम बजारले निरन्तर सङ्घर्ष गरिरहेको छ, जसले गर्दा मानिसहरूले विदेशमा अवसरहरू खोज्दा आप्रवासन बढेको छ। घरको आम्दानी, रोजगारी र समग्र कल्याण संकटपूर्वको स्तरभन्दा निकै तल रहेको छ ।’
बैंकले तलब अझै सन् २०१९ को स्तरमा पुग्न बाँकी रहेको बताएको छ । त्यसबेलादेखि दैनिक तीन दशमलव ६५ डलरभन्दा कम कमाउनेहरूद्वारा मापन गरिएको गरिबी दोब्बर भएको छ ।

