तनहुँ । यहाँको ऋषिङ गाउँपालिका–१ र ३ जोड्ने दिउली खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ। संघीय सशर्त अनुदानअन्तर्गत तीन करोड ८५ लाख ९३ हजार लागतमा पुल निर्माण सुरु गरिएको हो।
पुल सम्पन्न भएपछि जिल्लाका ऋषिङ, व्यास र देवघाट गरी तीन स्थानीय तहका बासिन्दा लाभान्वित हुने छन्। तीन पालिकाका करिब ४०० घरधुरीलाई आवतजावतमा सहज हुने गाउँपालिकाका इन्जिनियर श्रीकृष्ण खनालले जानकारी दिए।
उनले भने, ‘पुल बनेपछि दमौलीबाट दिउली खोला पुल हुँदै देवघाटको दुबुङ र खाल्टे पुग्न सहज हुनेछ।’ पुल निर्माणको जिम्मा पशुपति आर्कडी असेस जेभीले पाएको छ। हाल पुलको एउटा पिल्लर निर्माण भइसकेको र अर्को छेउको पिल्लर निर्माण भइरहेको पालिकाका न्जिनियर अखिल सुबेदीले बताए।
उनका अनुसार ४० मिटर ‘स्पान प्रिस्ट्रेस्ड क्रङ्क्रिट’ प्रविधिबाट पुल निर्माण गर्न लागिएको हो। पुलको हालसम्म वित्तिय प्रगति ३० प्रतिशत र भौतिक प्रगति ४० प्रतिशत छ। वि.सं. २०८० माघ २३ मा सम्झौता गरी पुल निर्माण सुरु गरिएको हो। यहाँ पुल नहुँदा ऋषिङका बासिन्दाले समस्या भोग्दै आएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाइले बताए।

