काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि सार्वजनिक निर्माण सम्बन्धी कार्यमा अनियमितता भएको आरोप फेरि उठेको छ। अधिवक्ता युवराज सफलले ४ करोड २ लाख रुपैयाँ बराबरको भ्रष्टाचार सम्बन्धी नयाँ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराएका छन्।
सफलले यस अघि पनि महानगरको भवनमा लिफ्ट जडान गर्दा करिब १ करोड रुपैयाँ भन्दा बढी रकम अपचलन भएको दाबी गर्दै अख्तियारमा उजुरी दिएका थिए। पछिल्लो पटक उनले अनियमितताको दायरा फराकिलो बनाउँदै सोही प्रकरणलाई आधार बनाएर थप विवरणसहित नयाँ उजुरी पेस गरेका हुन्।
अख्तियारमा दर्ता गरिएको उजुरी अनुसार, काठमाडौं प्लाजास्थित महानगरको भवन मर्मत र लिफ्ट जडानको जिम्मा प्रतिस्पर्धा विहीन प्रक्रिया मार्फत पुमा लक्ष्मी निर्माण सेवा नामक कम्पनीलाई दिइएको छ।
उजुरीमा भनिएको छ, सार्वजनिक निर्माण विभागले राष्ट्रिय दैनिकमा टेन्डर आह्वान गरे पनि केवल एउटै कम्पनीले मात्र प्रस्ताव पेश गरेको र अन्य कम्पनीहरूले भाग नलिएको भन्दै यही एक कम्पनीलाई ठेक्का दिइएको विषयमा गम्भीर प्रश्न उठाइएको छ।


