धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसहित बजेटलाई सर्वसम्मतिले पारित गरेको हो ।आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसहित आगामी आर्थिक वर्षको बजेट सदनबाट पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
आगामी आर्थिक वर्षका लागि सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको अनुमानित बजेट गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड दुई लाख ६ हजार (५९.२५ प्रतिशत) बजेट विनियोजन गरिएको छ । यसैगरी, अन्तरवित्तीय हस्तान्तरतर्फ तीन अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
बजेटमाथि चार दिनसम्मको छलफल गरिएको थियो । छलफलमा २७ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए । छलफलको क्रममा सत्ता र प्रतिपक्षका सांसद्हरुले बजेटको आलोचना गरेका थिए ।

