काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि ३ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ । यो अप्रिलमा गरिएको अनुमानभन्दा ०.२ प्रतिशत बढी हो। विश्वव्यापी व्यापार विकासले अर्थतन्त्रको दृष्टिकोणलाई निरन्तर आकार दिइरहेको र त्यसकै आधारमा यो संशोधन गरिएको आईएमएफले जनाएको छ ।
आईएमएफका अनुसार, २०२५ मा विश्वको अर्थतन्त्र २.८ प्रतिशतबाट बढेर ३ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ । यस्तै, सन २०२६ को वृद्धि प्रक्षेपणलाई ३ प्रतिशतबाट ३.१ प्रतिशतमा परिमार्जन गरिएको छ । पछिल्लो अद्यावधिक जानकारी अनुसार, उदीयमान बजार र विकासशील अर्थतन्त्रहरू अब २०२५ मा ४.१ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ, जुन अप्रिलको पूर्वानुमानभन्दा ०.४ प्रतिशत बढी हो।
यसैगरी, विकसित अर्थतन्त्रहरूको वृद्धि प्रक्षेपण पनि १.४ प्रतिशतबाट बढेर १.५ प्रतिशतमा परिमार्जन गरिएको छ । विशेष गरी संयुक्त राज्य अमेरिका, युरो क्षेत्र, जापान, बेलायत, क्यानडा, चीन, भारत, ब्राजिल, मेक्सिको, साउदी अरेबिया र नाइजेरिया लगायतका प्रमुख अर्थतन्त्रहरूको वृद्धि प्रक्षेपणलाई माथितिर परिमार्जन गरिएको छ।आईएमएफले वास्तविक–समय वर्तमान व्यापार नीतिमा आधारित अनुमान अनुसार, आर्थिक नीतिगत अनिश्चितता यस वर्ष र अर्को वर्ष पनि उच्च रहने अनुमान गरेको छ।

