काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सडक पुर्वाधार विना अटोमोबाईल क्षेत्र दिगो बन्न नसक्ने बताएका छन । नाईमा अटोमोबाईल एक्स्पोको उदघाटन सत्रमा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले गुणस्तरीय सडक पूर्वाधार निमार्णमा ध्यान दिएको बताए ।
उनका अनुसार पूर्वपश्चिम राजमार्गलाई एक्स्प्रेस हाईवेको रुपमा बिकास गरिदैछ । पूर्वको काकडभित्ता देखि पश्चिमको गड्डाचौकिसम्म एक्स्प्रेस हाईवेको विकासका लागि काम सुरु भैसकेको उनको भनाई छ ।
यसैगरी हुलाकी राजमार्ग, मध्यपश्चिम लोक राजमार्ग, मदन भन्डारी राजमार्ग, काठमाडौं निजगड सहित अन्य राजमार्ग र कोरिडोरको काम तिब्र रुपमा अघि बढेको पनि उनले जानकारी दिए ।
साथै उनले भृकुटी मन्डपलाई अन्तरास्ट्रिय स्तरको प्रदर्शनी हल निमार्णका लागि ग्लोबल ट्रेन्डर गरिने जानकारी दिए । एक्स्पो गर्दा विभिन्न खाले हैरानी ब्यहोर्नु परेको भन्दै सरकारले चालु आवको बजेटमा भृकुटीमण्डपमा अन्तरास्ट्रिय स्तरको प्रदर्शनी स्थल बनाउने व्यवस्था गरिएको बताए । भृकुटीमण्डपमा रहेका सबै संरचना हटाएर आकर्षक प्रदर्शनी स्थल बनाउने बताए । उनले बढिमा तीन बर्ष भित्र आधुनिक र अन्तरास्ट्रिय प्रदर्शनी स्थल बन्ने दाबी गरे ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको छ । जसमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुँन लागेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले जनाएको छ ।
यो एक्स्पोमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीसाधनको प्रदर्शनी हुनेछ तर पार्टपुर्जा भने राखिने छैन । ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान गरिएको छ ।

