Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मन्त्रिपरिषद् बैठकले गर्‍यो प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

मन्त्रिपरिषद् बैठकले गर्‍यो प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

आर्थिक पत्र
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ देखि १८ सम्म गर्ने चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

    शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो। ओली सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार चीन प्रस्थान गर्दै छन्।

    यस क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग र उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने तय भएको छ।

    ओलीले सेप्टेम्बर १ मा तियानजिनमा आयोजित ‘एससीओ प्लस समिट’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, शिखर सम्मेलनको अवसरमा उनले सहभागी अन्य विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नेछन्।

    जापानी उपनिवेशविरुद्ध विजय हासिल गरेको ८०औं वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङमा हुने मिलिटरी परेडमा पनि प्रधानमन्त्री सहभागी हुनेछन्।

    प्रधानमन्त्रीको टोलीमा श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा लगायत रहनेछन्।

    प्रधानमन्त्री ओली भ्रमण पूरा गरेर भदौ १८ गते स्वदेश फर्किने छन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार