काठमाडौं । सामाजिक सञ्जाल एक्स, चिनियाँ मेसेजिङ एप विच्याट र हाम्रो पात्रोले पनि सूचीकरणका लागि इच्छा देखाएको छ । यी सञ्जालहरू सूचीकरणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सम्पर्कमा आएका हुन् ।
मन्त्रालयका अनुसार एक्सले सूचीकरणका आवश्यक कागजात र विवरणको बारेमा जिज्ञासा राखेको छ । मन्त्रालयलाई इमेल मार्फत आवश्यक कागजातको बारेमा एक्सले जानकारी लिएको जनाइएको छ ।
यसैगरी, हाम्रो पात्रोले पनि सूचीकरणका लागि आवश्यक पर्ने सबै कागजात पठाइसकेको मन्त्रालयका प्रवक्त गजेन्द्र कुमार ठाकुरले जानकारी दिए । विच्याटले भने हालसम्म आवश्यक कागजात पठाएको छैन ।
यसैगरी, फेसबुकको माउ कम्पनी मेटाले बिहिबार नै आवश्यक काजगातको बारेमा जानकारी लिएको थियो । सरकारले नेपालमा दर्ता नभएका २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णय गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले बिहिबार सबै ईन्टर्नेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो । प्राधिकणको निर्देशनसँगै नेपाल टेलिकम, एनसेल र वल्र्डलिंक कम्युनिकेशन्सले नेपालमा दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेका छन् ।

