काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं अधिवेशन तथा साधारणसभा मार्फत नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनमा भागवत भट्टराई अध्यक्ष पदमा निर्वाचित भएका छन्।
भट्टराईले ११० मत प्राप्त गर्दै अध्यक्ष पदमा जित निकालेका हुन्। उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ मत र आशा थपलियाले ४१ मत प्राप्त गरेका थिए।
उपाध्यक्ष पदमा जीवन बस्नेत निर्विरोध निर्वाचित भएका छन्। महासचिव पदमा कमलकुमार बस्नेत १३९ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी अच्युत पुरीले १०४ मत पाए।
सचिव पदमा शंकर पण्डित निर्विरोध निर्वाचित भए। कोषाध्यक्ष पदमा केशु लामिछाने १३३ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिस्पर्धी ममता थापाले १०८ मत प्राप्त गरिन्।
सदस्य पदतर्फ अर्जुन तामाङ (१४१ मत), कमल धिताल (१८५), भोजराज भण्डारी (१४६), राजु बास्कोटा (१५९) र सिमा तामाङ (१६२) निर्वाचित भए। अर्का प्रत्यासी भरत रावल भने शीर्ष पाँचमा पर्न सकेनन्।
निर्वाचनमा कुल २६६ जना मतदाता मध्ये २४८ जनाले मात्र मतदान गरेको सेजन निर्वाचन समितिले जनाएको छ।

