काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरे पनि मंगलबार बिहानैदेखि जेनजी आन्दोलनकारीहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। बानेश्वरचोकमा भेला भएका प्रदर्शनकारीहरुले हाम्रा साथी फिर्ता दे सरकार र प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागसहित नारा लगाउँदै प्रदर्शन गरेका छन्।
यसअघि सोमबारको प्रदर्शनमा प्रहरीले चलाएको गोलीबाट १९ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए भने ४ सयभन्दा बढी घाइते भएका छन्। स्थितिको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान ८ः३० बजेदेखि चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहे पनि प्रदर्शनकारीहरु सडकमा उत्रिएपछि अवस्था तनावग्रस्त बन्ने जोखिम बढेको छ। स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न सबै नागरिकलाई कर्फ्यु आदेशको पालना गर्न अनुरोध गरेको छ।

