काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्ष २०८२।०८३ को पहिलो तीन महिनामा ७५ करोड २७ लाख ४४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालयका प्रमुख कर अधिकृत गोपालबहादुर थापाका अनुसार यो सङ्ख्या वार्षिक राजस्व लक्ष्यको १६.९० प्रतिशत हो। चालू आर्थिक वर्षमा कार्यालयले ४ अर्ब ४५ करोड ५० लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ।
पहिलो त्रैमासिकमा ८७ करोड १० लाख २८ हजार रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ८६.४२ प्रतिशत लक्ष्य पुरा भएको छ।
त्रैमासिक अवधिमा आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मूल्य अभिवृद्धि कर (भीएटी) बाट ३१ करोड ९ लाख २४ हजार र अन्तःशुल्कबाट १८ करोड ६९ लाख ५२ हजार रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
गत आर्थिक वर्ष २०८१।०८२ को सोही अवधिमा ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन भएको थियो।
राजस्व लक्ष्य हासिल गर्न कार्यालयले करदाता माथि अत्यधिक दबाब नपर्ने गरी बजार अनुगमन, निगरानी र लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षाको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी प्रमुख कर अधिकृत थापाले दिनुभयो।

