Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल–चीन कोरला नाका: वैकल्पिक व्यापारिक मार्गले व्यापारमा नयाँ गति थप्यो

नेपाल–चीन कोरला नाका: वैकल्पिक व्यापारिक मार्गले व्यापारमा नयाँ गति थप्यो

आर्थिक पत्र
आइतवार, कार्तिक ९ २०८२
  • मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका वैकल्पिक व्यापारिक मार्गको रूपमा सञ्चालनमा आएको छोटो समयमै मुस्ताङ भन्सार कार्यालयले तीन अर्ब एक करोड ४४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो नाका चीनबाट नेपालमा विद्युतीय कार आयात हुने प्रमुख मार्गको रूपमा परिचित छ।

    गत भदौ ३१ गते पूर्ण रूपले व्यापारिक मार्गका लागि खुला गरिएको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयले मंगलबारसम्म राजस्व संकलन गरेको जानकारी दिएको छ। भन्सार कार्यालयका अनुसार हालसम्म ६६४ वटा मालवाहक कन्टेनर जाँचपास गरी गन्तव्यतर्फ पठाइएको छ।

    चीनबाट पैठारी गरिएका मालसामानमा मुख्यतया दसैं–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक सामान र इलेक्ट्रोनिक उपकरण रहेका छन्। नेपालतर्फबाट भने हस्तकला सामग्री र अन्य नेपाली उत्पादन निर्यात गरिएको छ।

    त्यसैगरी, मुस्ताङ भन्सार प्रमुख रमेश खड्काका अनुसार हालसम्म १४९८ वटा विद्युतीय कार चीनबाट नेपालतर्फ भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको छ।

    कोरला नाकालाई भन्सार विभागले वैकल्पिक नाका बनाएको थियो, किनभने प्रमुख नाका तातोपानी र रसुवागढी नाका विभिन्न कारणले अवरुद्ध भएका थिए। यस नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन भन्सार कार्यालयलाई अनलाइन आशिकुडा प्रणालीमा जोडिएको छ। साथै व्यापारलाई सहज बनाउने उद्देश्यले भन्सार प्रतितपत्र (एलसी) खोल्न अनुमति पनि प्रदान गरिएको छ।

    कोरला नाका ४,६१० मिटरको अग्लो उचाइमा अवस्थित भएकाले वर्षभरि सञ्चालन चुनौतीपूर्ण छ। अत्यधिक चिसोले गर्दा ढुवानीका साधन स्टार्ट नहुने, केही सामग्री धकेलेर तल लैजानुपर्ने स्थिति बन्ने गरेको छ। भन्सार प्रमुख खड्काका अनुसार नाका पूर्ण रूपमा सञ्चालन गर्न सडकको अवस्था सुधार्न र पूर्वाधार निर्माण आवश्यक छ।

    यसअघि २०८० कात्तिक २७ गते चीनले उपल्लो मुस्ताङका नागरिकका लागि घरायसी सामान किनमेल गर्न नाका बाह्रै महिना खुला हुने घोषणा गरेको थियो। सोही अनुसार नागरिकले सीमापार पास देखाएर नेचुङ–लिजी मार्ग प्रयोग गरी चीन प्रवेश गर्न पाउने व्यवस्था गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार