काठमाडौँ । अर्गानिक खाद्य पदार्थ मात्र बिक्री गर्नेगरी आजु फूड सञ्चालनमा आएको छ । सञ्चालक यादव देवकोटाले देशका विभिन्न जिल्लाहरुमा उत्पादित स्थानीय अर्गानिक खाद्यान्नहरुलाई काठमाडौँ ल्याएर विक्रि वितरण गरिरहेका छन् ।
किसानकै खेतबारीबाट खाद्यान्न खरिद गरेर उपभोक्ता माझ पुर्याउँदै आएका देवकोटा बिचौलियाको हातमा नपरी उपभोक्ताको चुल्होसम्म पुर्याउँदा अरुभन्दा सस्तो मूल्य पर्न जाने बताउँछन् ।
आफूले बेचिरहेको खाद्यान्न शुद्ध अर्गानिक रहेको उनको दावी छ । विदेशबाट आयात गरिएको कतिपय खाद्यवस्तु मानव स्वास्थ्यको लागि फाइदाजनक नभएकोले स्वदेशी उत्पादन जसमा हानिकारक किटनाशक प्रयोग गरिएको हुँदैन त्यस्तो खाद्यवस्तु प्रयोगमा ल्याउनुपर्ने उनको जोड छ । आफूले त्यस्तै शुद्ध अर्गानिक खाद्यवस्तु गाउँगाउँबाट संकलन गरेर काठमाडौँमा ल्याएर बेचिरहेको उनले बताए ।
आजु फूडले कर्णाली प्रदेशका सल्यान, दैलेख, जुम्ला, कालिकोट र जाजरकोट, लुम्बिनी प्रदेशका दाङ्ग, रुपन्देही, गुल्मी, बर्दिया, रोल्पा र कपिलवस्तुलगायत जिल्ला र गण्डकी प्रदेशका कास्की, गोरखा, प्रदेश -१ काे इलामबाट, मधेश प्रदेशको सर्लाहीबाट समेत स्थानीय खाद्यवस्तु संकलन गरेर प्याकिङ्ग गरि विक्रि वितरण गरिरहेको छ ।
सञ्चालक देवकोटाका अनुसार सल्यानबाट संकलन गरेर कालो मासको दाल, तिते फापर, चारमुखे पिंडालु र अदुवा प्याकिङ्ग गरेर विक्रि वितरण गरिएको छ भने जुम्लाबाट ल्याएका मार्सी चामल, कागुनो, चिनो, फापर, भटमास, सिमी र जौं लगायतका खाद्य सामग्री विक्रि वितरण भैरहेकाे छ ।
त्यस्तै, गोरखाबाट भैंसीको घिउ, अनादीको चामल, मासको दाल, पिंडालु, जापानिज मस्याङ र स्थानीय मस्याङ र इन्द्रावेदी धानको चामल तथा गुल्मीबाट खुदो, कास्कीबाट जेठो बुढो धानको चामल, इलामबाट गाईको घिउ, सर्लाहीबाट मोरिङ्गो र बेसार, रुपन्देहीबाट आलस, कालिकोटबाट सेतो मकै र भाङ्गो, जाजरकोट कुशे गाउँपालिकाबाट खैरो, सेतो र मिक्स भटमास, कपिलवस्तुबाट काला नमक धानको चामल, दाङ्ग बबई गाउँपालिकाबाट मह, दैलेखबाट मह, खोकनाको तोरीको तेल, रोल्पा र बर्दियाबाट स्थानीय लसुन, बर्दियाबाट मुक्त कमलरीहरु ल्याएर आजु फूडले ग्रिण्डिङ, प्याकिङ र ब्राण्डिङ गरि विक्रि वितरण गरिरहेको छ ।
आजु फूडका अर्गानिक खाद्यान्नहरु काठमाडौँको बालाजुबाट विक्रि वितरण हुँदै आएको छ । मुख्य गोदाम भने टेकुमा रहेको छ । चाँडै नै आजु फूडले स्वयम्भुको होटेल नयन रहेको भवन र ललितपुरको भनिमण्डलमा पनि विक्रि केन्द्र सुचारु गर्ने बताएको छ ।
अनलाइनबाट अर्डर गरिएको आजु फूडको सामान दरवारमार्गको शेर्पा मलको रिबक, एडिडाज र लिभाइजको शोरुमबाट पिकअप गरेर लिन सकिनेसमेत संचालक देवकोटाले जानकारी दिए ।

