पोखरा । गण्डकी प्रदेशको अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष (जनवरीदेखि अक्टोबरसम्म) दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार यस अवधिमा दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार ९६८ र अन्य मुलुकका ९९ हजार ६०७ पर्यटक भित्रिएका हुन्।
सबैभन्दा बढी पर्यटक अप्रिल महिनामा (४४ हजार ७६३) आएका थिए भने जनवरीमा सबैभन्दा कम (९ हजार ३५९) पर्यटक आएका थिए। सन् २०२४ को कुल आगमन २ लाख ४४ हजार ४५ रहेकोमा सन् २०२५ को १० महिनामै त्यो संख्या पार भएको एक्यापले जनाएको छ।
आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार ‘जेन्जी आन्दोलन’ जस्ता कारणले गत सेप्टेम्बरमा केही कमी भए पनि अक्टोबरमा अघिल्लो वर्षभन्दा १ हजार ५५७ बढी पर्यटक आएका छन्। मे र सेप्टेम्बर बाहेक अन्य महिनामा गत वर्षको तुलनामा पर्यटक आगमन बढेको उनले बताए। नोभेम्बरपछि पर्यटक घट्ने र मार्चपछि पुनः बढ्ने अनुमान गरिएको छ।
विश्वमा पदयात्रा पर्यटनका लागि प्रख्यात अन्नपूर्ण क्षेत्रमा सेप्टेम्बर–नोभेम्बर र मार्च–मे महिनामा बढी पर्यटक आउने गर्छन्। सडकमार्ग हुँदै मुक्तिनाथ लगायत गन्तव्यमा जाने भारतीय पर्यटकको संख्या उल्लेखनीय छ, जबकि अन्य मुलुकका पर्यटक पदयात्रा बढी रोज्ने एक्यापको भनाइ छ।
अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटक मात्रको तथ्याङ्क राख्ने गरिन्छ। मुस्ताङ लगायतका गन्तव्यमा सडकमार्ग प्रयोग गरी पुग्ने आन्तरिक पर्यटकको संख्या पनि वर्षेनि बढिरहेको डा। कडरियाले जानकारी दिए।
सन् २०२३ मा अन्नपूर्ण क्षेत्रमा १ लाख ९१ हजार ६६६ विदेशी पर्यटक पुगेका थिए। सन् २०२० मा मात्र १८ हजार ८३६ पर्यटक पुगेका थिए भने त्यसयता आगमनमा निरन्तर वृद्धि भइरहेको छ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, घोडेपानी र पुनहिलजस्ता चर्चित गन्तव्यहरू पर्दछन्। यी क्षेत्रहरू प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिका कारण आन्तरिक तथा बाह्य पर्यटकको मनपर्ने गन्तव्य बनेका छन्।

