काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा उच्च शेयर भाउ भएको युनिलिभर नेपालको नाफामा भारी गिरावट आएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको यसै अवधिको तुलनामा कम्पनीको नाफा ४३ प्रतिशतले घटेको छ ।
कम्पनीको खुद नाफा यस अवधिमा ३० करोड रुपैयाँ मा सीमित भएको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा नाफा ५२ करोड ६९ लाख रुपैयाँ थियो। कम्पनीको बिक्री तथा सञ्चालन आम्दानी घट्दा नाफा उच्चदरले घटेको हो । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब २५ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष सोही अवधिमा २ अर्ब मात्र यस्तो आम्दानी गरेको छ ।
एकातर्फ कम्पनीको आम्दानी घट्ने अर्कातर्फ खर्च बढेको छ । गत वर्ष १ अर्ब ६३ करोड रुपैयाँ रहेको खर्च भएको कम्पनीमा यसवर्ष १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। कच्चा पदार्थको लागत बढ्नु यस खर्च वृद्धिको मुख्य कारण मानिएको छ।
नाफा घट्दा प्रतिशेयर आम्दानी पनि घटेको छ । पहिलो त्रैमासको मात्रै कम्पनीको प्रतिसेयर आम्दानी ३२६ रुपैयाँ छ भने वार्षिक प्रतिशेयर आम्दानी १ हजार ८८४ रुपैयाँ छ । गत वर्षको यसै अवधिमा वार्षिक प्रतिशेयर आम्दानी २ हजार ९६ रुपैयाँ थियो ।
शेयर बजारमा युनिलिभर नेपाललाई सबैभन्दा उच्च मूल्य भएको कम्पनीका रूपमा चिनिन्छ । हाल यसको शेयर मूल्य प्रतिकित्ता ४६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँबाट बढेर ६ हजार ३ रुपैयाँ पुगेको छ । चुक्ता पूँजी जम्मा ९ करोड २१ लाख रुपैयाँ रहेको यस कम्पनीको सञ्चित आम्दानी ५ अर्ब ४३ करोड रुपैयाँ छ ।

