Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भोकमरी सूचकांकमा नेपाल कमजोर

भोकमरी सूचकांकमा नेपाल कमजोर

आर्थिक पत्र
बिहिवार, मंसिर २५ २०८२
  • काठमाडौं । नेपालले दुई दशकयता भोकमरी नियन्त्रणमा हासिल गरेको सुधार पछिल्ला वर्षमा स्थिर बन्दै कुपोषणका प्रमुख सूचकहरू पुनः उकालो लागेको देखिन्छ। वेल्ट हंगर हिल्फे र लि–बर्ड ले मंगलबार प्रकाशित गरेको ‘ग्लोबल हंगर इन्डेक्स २०२५’ अनुसार नेपालको अंक १४.७ बाट १४.८ मा बढेको छ भने स्थान ६८ बाट झर्दै ७२ औँमा पुगेको छ।

    प्रतिवेदनले नेपालको भोकमरी अवस्थालाई ‘मध्यम’ श्रेणीमा राखे पनि प्रमुख सूचक विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपना—बढ्दै गएको तथ्यलाई जोखिमको संकेतका रूपमा औंल्याएको छ। पुड्कोपना दर २४.८ प्रतिशतबाट २६ प्रतिशत पुगेको छ, जसले दीर्घकालीन पोषण अभाव, क्रयशक्ति घट्दो अवस्था र स्वास्थ्य सेवामा रहेको कमजोरीलाई प्रतिविम्बित गर्छ।

    सन् २००० मा ‘गम्भीर भोकमरी’ श्रेणीमा रहेको नेपालले पछिल्ला दुई दशकमा उल्लेखनीय सुधार गरेको भए पनि हालको सुस्त प्रगति दिगो विकास लक्ष्यअन्तर्गत २०३० सम्म ‘जिरो हंगर’ हासिल गर्न कठिन देखिएको प्रतिवेदनमा उल्लेख छ। दक्षिण एसियामा नेपाल र श्रीलंका मात्र मध्यम श्रेणीमा परेका भए पनि पछिल्ला वर्षमा नेपालकै सुधार दर स्थिर बनेको बताइएको छ।

    विशेषज्ञहरूले जलवायु परिवर्तन, जैविक विविधताको क्षय, कृषि उत्पादनमा आएको गिरावट र स्थानीय खाद्य प्रणालीको कमजोरीलाई भोकमरी तथा कुपोषण बढ्ने प्रमुख चुनौतीको रूपमा देखाएका छन्। 

    कार्यक्रममा सहभागी विज्ञहरू र संस्थागत प्रतिनिधिहरूले बहुक्षेत्रीय पोषण योजना, महिला सशक्तीकरण, स्थानीय खाद्य प्रणाली सुदृढीकरण र तथ्यांक–आधारित नीति कार्यान्वयनलाई दीर्घकालीन समाधानको पूर्वशर्त बताए। उनीहरूले स्थानीय स्तरमा कृषि–प्रविधिको विस्तार, दिगो खेती, जोखिममा रहेका समुदायको प्राथमिकता र युवा सहभागिताले मात्र नेपाललाई भोकमरीबाट स्थायी रूपमा बाहिर निकाल्न सकिने धारणा राखे।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार