काठमाडौं । नेपालका लागि स्विजरल्याण्डकी राजदूत डा. ड्यानियल म्युलीले आज राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरिन् ।
भेटमा नेपाल-स्विजरल्याण्डबीचको आर्थिक तथा विकास साझेदारीका सम्भावित क्षेत्रहरूबारे छलफल भएको थियो। साथै, दुवै पक्षले हालको नेपालको आर्थिक स्थिति र लगानी वातावरणबारे पनि विचारविमर्श गरेका छन्। दुबै पक्षले शिक्षा, प्रविधि, जलवायु तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसरमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
गर्भनर पौडेलले नेपालको आर्थिक विकास र वित्तीय प्रणाली सुदृढ बनाउन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै स्विजरल्याण्डसँगको द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बताए। साथै,स्विजरल्याण्डबाट नेपालमा लगानी र प्रविधि हस्तान्तरणका अवसर बढाउन सकिने सम्भावनाबारे पनि छलफल भएको छ।
राजदूत डा. म्युलीले नेपालसँगको मित्रता र सहयोगलाई अझ प्रगाढ बनाउन तयार रहेको बताइन् । उनले भनिन्, “हामी नेपालको दीगो विकास र आर्थिक समृद्धि सँगै अघि बढ्न प्रतिवद्ध छौँ।”

