Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

२१ दिनको सटडाउनपछि ६९ मेगावाटको मस्र्याङ्दी जलविद्युत् केन्द्र पुनः सञ्चालनमा

२१ दिनको सटडाउनपछि ६९ मेगावाटको मस्र्याङ्दी जलविद्युत् केन्द्र पुनः सञ्चालनमा

आर्थिक पत्र
बिहिवार, फाल्गुण २८ २०८२
  • काठमाडौँ ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्र मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको छ। २१ दिनसम्म पूर्ण रूपमा प्लान्ट बन्द (सटडाउन) गरेर गरिएको जटिल प्राविधिक तथा सिभिल संरचनासम्बन्धी कार्य सम्पन्न भएपछि केन्द्रले पुनः विद्युत् उत्पादन सुरु गरेको हो।

    नेपाल विद्युत् प्राधिकरण अन्तर्गत सञ्चालनमा रहेका जलविद्युत् केन्द्रमध्ये क्षमताका आधारमा तेस्रो र वार्षिक उत्पादनका दृष्टिले दोस्रो ठूलो मानिने यस केन्द्रले गत आर्थिक वर्षमा ४५१ दशमलव ७ गिगावाट घण्टा विद्युत् उत्पादन गरेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म भने केन्द्रले २९३ दशमलव ५ गिगावाट घण्टा विद्युत् उत्पादन गरिसकेको छ।

    केन्द्रको दिगो सञ्चालन सुनिश्चित गर्न फागुन २ गतेदेखि प्लान्ट बन्द गरेर मर्मतसम्भारको काम अघि बढाइएको थियो। सटडाउन अवधिमा वर्षौंदेखि बाँकी रहेका र चुनौतीपूर्ण मानिएका विभिन्न प्राविधिक तथा सिभिल संरचनासम्बन्धी कामहरू सम्पन्न गरिएको केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिए।

    उनका अनुसार बाँध क्षेत्रको माथिल्लो तटीय भाग तथा डिसेन्डर नजिकको कटानका कारण जोखिममा परेको संरचनाको संरक्षण कार्य सम्पन्न गरिएको छ। साथै, विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको ‘अन्डर स्लुइस गेट’ को क्षतिग्रस्त संरचना मर्मत गरी पुनः सञ्चालनयोग्य बनाइएको छ। उक्त गेट सुरुङमा बालुवा पस्न नदिन महत्वपूर्ण मानिन्छ।

    त्यस्तै, मुख्य इन्टेक नजिकै रहेको कम्पनसेटिङ पोखरीमा वर्षौंदेखि थुप्रिएको बालुवा निकाल्ने कार्य पनि यही अवधिमा सम्पन्न गरिएको मानजनले बताए। लामो समयदेखि रोकिएका ठेक्का सम्झौतासम्बन्धी काम तथा मेकानिकल मर्मतलाई उच्च प्राथमिकताका साथ पूरा गरिएको उनको भनाइ छ।

    विद्युत् गृहको युनिट नम्बर ३ को ओभरहलिङ कार्य केन्द्रकै कर्मचारी तथा अन्य जलविद्युत् केन्द्रका प्राविधिकहरूको संलग्नतामा सम्पन्न गरिएको छ। बाँध क्षेत्रमा भइरहेको सिभिल मर्मतका लागि तीन सिफ्टमा २४सै घण्टा जनशक्ति परिचालन गरिएको थियो।

    केन्द्र प्रमुख मानजनका अनुसार खोलाको बहाव न्यूनतम हुने समयमा उत्पादनमा कम असर पर्ने गरी मर्मत कार्यको योजना बनाइएको थियो। तालुक कार्यालय, विभाग र निर्देशनालयको समन्वय तथा उच्च व्यवस्थापनको सहयोगका कारण वर्षौंदेखि रोकिएका महत्वपूर्ण सिभिल संरचनाका कामहरू यस पटक सम्पन्न गर्न सफल भएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार