Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति

आर्थिक पत्र
बिहिवार, चैत्र १९ २०८२
  • इन्डोनेसिया। पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् । प्रारम्भिक रूपमा सुनामीको चेतावनी जारी गरिए पनि केही समयपछि खतरा टरेको घोषणा गरिएको छ।

    सुलावेसी र मालुकु टापुबीच केन्द्रविन्दु रहेको भूकम्पका कारण समुद्रमा करिब ७५ सेन्टिमिटरसम्म अग्ला छालहरू उत्पन्न भएका थिए। हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले इन्डोनेसिया, फिलिपिन्स र मलेसियासहित आसपासका क्षेत्रमा खतरनाक सुनामी आउन सक्ने चेतावनी दिएको थियो, तर भूकम्पको करिब दुई घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको थियो।

    उत्तरी सुलावेसीको मनाडो सहरमा एक भवन भत्किँदा एक जनाको ज्यान गएको र अर्का एक घाइते भएको खोज तथा उद्धार टोलीले जनाएको छ। उद्धार अधिकारी जर्ज लियो मर्सी रान्डाङका अनुसार मृतक भग्नावशेषमुनि पुरिएका थिए र अन्य सम्भावित घाइतेबारे पनि विवरण संकलन भइरहेको छ।

    भूकम्पको गहिराइ करिब ३५ किलोमिटर रहेको अमेरिकाको भूगर्भ सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ। कम्पनपछि त्यस क्षेत्रमा दर्जनौँ परकम्प (आफ्टरसक्स) समेत महसुस गरिएको छ, जसमा ५.९ म्याग्निच्युडसम्मका झट्का समावेश छन्।

    स्थानीय बासिन्दाहरूका अनुसार भूकम्प निकै लामो समयसम्म महसुस भएको थियो। मनाडोमा सडक खाद्य विक्रेता सिती रोहायतीले भूकम्प आएको क्षण सम्झिँदै आफ्नो परिवारलाई बचाउन आफूले तुरुन्त बाहिर निकाल्ने प्रयास गरेको बताए। उनका अनुसार सबैभन्दा ठूलो चिन्ता आफ्ना बालबालिकालाई सुरक्षित राख्नु थियो।

    त्यस्तै, उत्तरी मालुकुको टेर्नेटका एक स्थानीय बासिन्दाले भूकम्प अत्यन्तै शक्तिशाली र एक मिनेटभन्दा बढी समयसम्म चलेको अनुभव सुनाए। घरभित्र रहेका मानिसहरू हतारहतार बाहिर निस्किएका थिए भने कतिपयले दैनिक कामकाज बीचमै छोडेर ज्यान जोगाउन दौडिएका थिए।

    इन्डोनेसियाको भूगर्भीय निकायका अनुसार उत्तरी मालुकु, उत्तरी सुलावेसी र गोरोन्टालोका विभिन्न नौ स्थानमा समुद्री छालको प्रभाव देखिएको थियो, जसमा सबैभन्दा उच्च छाल उत्तरी मिनाहासामा ७५ सेन्टिमिटरसम्म पुगेको थियो।

    जापान, ताइवान, गुआम र पलाउसहित अन्य प्रशान्त क्षेत्रहरूमा साना छालहरूको सम्भावना औँल्याइए पनि ठूलो जोखिम देखिएको थिएन। जापान मौसम विज्ञान एजेन्सीले समुद्री सतहमा सामान्य परिवर्तन मात्र हुन सक्ने जनाएको थियो।

    इन्डोनेसिया ‘रिङ अफ फायर’ नामक भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा पर्ने भएकाले यहाँ यस्ता शक्तिशाली भूकम्प बारम्बार आउने गर्छन्। सन् २००४ मा आचे क्षेत्रमा आएको ९.१ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीले एक लाख ७० हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार