Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

खोटाङबजारको सडक ढलानमा ढिलासुस्ती, निर्माण पूरा भएकाे काम पनि गुणस्तरहीन भएकाे आराेप

खोटाङबजारको सडक ढलानमा ढिलासुस्ती, निर्माण पूरा भएकाे काम पनि गुणस्तरहीन भएकाे आराेप

आर्थिक पत्र
शनिवार, भाद्र १८ २०७९
  • खोटाङ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानमा निर्माण कम्पनीको लापरवाही देखिएको छ । जिल्लाकै पुरानो बजार खोटाङबजारभित्रको सडक ढलान तथा डिबिएसटी पिच निर्माणमा धुलिखेल निर्माण सेवाले चरम ढिलासुस्ती गरेको र गुणस्तरहीन काम गरेको स्थानीयको आरोप छ ।

    प्रदेश सरकारको मुअकरबाहेक दुई करोड ६९ लाख २५ हजार सात सय ९७ को लागतमा धुलिखेल निर्माण सेवाले खोटाङबजार सडक ढलान तथा डिबिएसटी पिच सुरु गरेको थियो । ३० असार ०७८ मा सक्नेगरी ३० असार ०७७ मा खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लागेको थियो । 

    खोटाङबजारभित्र करिब सात सय मिटर आरसिसी ढलान र करिब ६ सय मिटर डिबिएसटी कालोपत्रे गर्नुपर्ने सम्झौता छ । तर, सडक ढलानका क्रममा गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरिएको, मापदण्डअनुसारको रडको जाली नराखिएको, ढलानअघि राखिएको सोलिङ राम्ररी नगरिएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । 

    सुरुमा खोटाङबजारमा डिबीएसटी कालोपत्रे गर्नेगरी डिपिआर तयार पारिएको थियो । तर, डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका घरहरुलाई असर गर्ने भन्दै डिजाइन परिवर्तन गरेर घरहरू भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच गर्नेगरी काम अघि बढाइएको थियो ।

    परिवर्तित डिजाइनअनुसार २ नम्बर धारादेखि इलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धारादेखि गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम अघि बढाइएको हो । आरसिसी ढलान अन्तिम चरणमा पुगे पनि पिच सुरु भएको छैन । निर्माण कम्पनीले दुईपल्ट थप भएको म्याद गुजारीसकेको शहरी विकास तथा भवन कार्यालय, ओखलढुंगाका ईन्जिनियर धिरज शाहले बताए । 

    सम्झौता म्याद नाघेको वर्षदिन वितिसक्दा बल्ल आयोजनाको करिब ६० देखि ७० प्रतिशत मात्र काम सकिएको छ । निर्माण कम्पनीले कोभिड–१९ को महामारीका कारण सरासर काम गर्न नपाएको बताउँदैआएको छ । शाहले गुणस्तरहीन काम भएको भनिएको ठाउँमा गत असारमा केही ठाउँमा ढलान फुटाउन लगाएको तर गुणस्तरका विषयमा कसैले गुनासो नगरेको बताए ।

    उनले योजनाको सुरुवाती चरणमा केही स्थानीयले ५-१० प्रतिशत पैसा मागेको दावी गरे । ‘ठूलो योजनामा बालुवा, गिटी तलमाथि भइ नै हाल्छ । कहीँ कहीँ फुटाउन लगाएर फेरी गर्न लगाएको छु । बील पनि रोकेको छु,’ शाहले भने, ‘एक वर्षसम्म त उसको १० प्रतिशन धरौटी हुन्छ । ढलान राम्रो नभए फुटाउने हो, काम गराउने हो । अहिलेसम्म त्यस्तो केस परेको छैन । बिग्रेछ भने उनीहरूले नै बेहोर्छ, धरौटी जफत हुन्छ ।’ 

    २०२० सालसम्म सदरमुकाम रहेको खोटाङबजारको सडक ढलानमा भइरहेको लापरवाहीका विषयमा स्थानीय सरकारदेखि प्रदेश र संघीय सांसद बेखबर झैं देखिएका छन् । खोटाङबजार प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ)को निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको गृह वडा हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार