काठमाडौँ। नेपालमा इन्टरनेट सेवा प्रदायकहरूमध्ये क्लासिक टेकप्रति ग्राहकको आकर्षण निरन्तर बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कम्पनीले फागुन र चैत महिनामा नयाँ ग्राहक थप्ने क्रममा अग्रस्थान कायम गरेको देखिएको छ ।
तथ्यांकअनुसार २०८२ फागुनमा क्लासिक टेकका कुल ग्राहक संख्या २ लाख ७९ हजार ८४८ रहेकोमा चैत महिनासम्म बढेर २ लाख ८३ हजार ३७१ पुगेको छ । एक महिनामै ३ हजार ५२३ नयाँ ग्राहक थपिनु कम्पनीको उल्लेखनीय विस्तारका रूपमा देखिएको छ ।
नयाँ जडान दरका आधारमा पनि क्लासिक टेकले अन्य सेवा प्रदायकहरूको तुलनामा राम्रो प्रदर्शन गरेको तथ्यांकले देखाएको छ । विशेषगरी सहुलियत मूल्यमा गुणस्तरीय सेवा, विविध इन्टरनेट प्याकेज र अत्याधुनिक वाइफाइ सिक्स राउटर उपलब्ध गराइनु ग्राहक आकर्षणको प्रमुख कारण भएको कम्पनीको दाबी छ ।
कम्पनीले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका ३ महिने तथा वार्षिक प्याकेजहरूमा वाइफाइ सिक्स राउटरसहित सेवा उपलब्ध गराउँदै आएको छ, जसले घरायसी तथा व्यावसायिक दुवै वर्गका ग्राहकलाई आकर्षित गरेको बताइएको छ ।
यद्यपि, सेवा विस्तारसँगै प्राविधिक सेवा र ग्राहक समर्थन भने कम्पनीका लागि चुनौतीका रूपमा रहेको देखिन्छ । वर्षायाममा मौसमजन्य असर, फाइबर लाइन क्षति तथा अन्य प्राविधिक समस्याका कारण सेवा अवरोध हुने समस्या देखिए पनि कम्पनीले सेवा सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ ।
क्लासिक टेकले पछिल्लो समय ग्राहक समर्थन तथा प्राविधिक सेवा सुधारका लागि विशेष अभियान सञ्चालन गरेको छ । कम्पनीका अनुसार नयाँ ग्राहक विस्तारसँगै विद्यमान ग्राहकलाई छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनु मुख्य प्राथमिकता हो ।
ग्राहक सहयोगका लागि घरायसी सेवामा ९८०२९२२३०४ र कर्पोरेट तथा अफिसियल सपोर्टका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न सकिने व्यवस्था छ । साथै, क्लासिक टेक मोबाइल एपमार्फत पनि सेवा सम्बन्धी समस्या दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

