काठमाडौं। अमेरिकी अर्बपति एलन मस्क नेतृत्वको स्पेसएक्सले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सेयर बजारमा प्रवेश गर्ने तयारी तीव्र बनाएको छ। कम्पनीले आगामी जुन १२ मा आईपीओ ल्याउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्रोतहरूका अनुसार स्पेसएक्सले आईपीओमार्फत ८० अर्ब अमेरिकी डलरभन्दा बढी रकम उठाउने लक्ष्य राखेको छ। योजना सफल भएमा यो विश्वकै सबैभन्दा ठूलो प्रविधि आईपीओमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ।
आईपीओ तयारीका क्रममा कम्पनीले चीनलाई आफ्नो सम्भावित बजार सूचीमा समावेश नगरे पनि उसलाई भविष्यको प्रमुख रणनीतिक प्रतिस्पर्धीका रूपमा चित्रण गरेको छ। विशेषगरी चीनले अन्तरिक्ष प्रविधि, स्याटेलाइट उत्पादन, प्रक्षेपण सेवा तथा कृत्रिम बौद्धिकता (एआई) पूर्वाधारमा तीव्र लगानी गरिरहेको भन्दै स्पेसएक्सले दीर्घकालीन प्रतिस्पर्धा बढ्ने चेतावनी दिएको बताइएको छ।
स्पेसएक्सले अन्तरिक्षमा आधारित एआई कम्प्युटिङ स्याटेलाइट नेटवर्क निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। कम्पनीले सन् २०२८ भित्र पृथ्वीको कक्षामा एआई कम्प्युटिङ क्षमतायुक्त स्याटेलाइट तैनाथ गर्ने लक्ष्य राखेको उल्लेख गरिएको छ।
कम्पनीका अनुसार अन्तरिक्षमै डेटा प्रशोधन पूर्वाधार विकास गर्न सके पृथ्वीमा रहेका डेटा सेन्टरमाथिको दबाब घट्नुका साथै उच्च गतिको सुरक्षित सञ्चार, रक्षा प्रणाली तथा प्रविधि सेवामा नयाँ अवसर सिर्जना हुनेछ।
हाल स्पेसएक्सले ‘स्टारलिंक’ स्याटेलाइट नेटवर्कमार्फत विश्वव्यापी इन्टरनेट सेवा विस्तार गरिरहेको छ। अब कम्पनीले सोही पूर्वाधारलाई थप विस्तार गर्दै एआई डेटा प्रोसेसिङ र क्लाउड कम्प्युटिङलाई अन्तरिक्षमा लैजाने रणनीति बनाएको विश्लेषण गरिएको छ।
लगानीकर्ताहरू विशेषगरी स्पेसएक्सको स्टारलिंक सेवा र हालै थपिएको एआई कम्पनी xAI बारे उत्साहित देखिएका छन्। मस्कले एआई क्षेत्रमा प्रतिस्पर्धा बढाउन xAI स्थापना गरेका हुन्। कम्पनीले उक्त व्यवसायलाई स्पेसएक्ससँग कसरी जोड्ने भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।
यदि जुन १२ मै आईपीओ सार्वजनिक हुने हो भने अमेरिकी नियामक निकायसमक्ष कम्पनीले आगामी साताभित्र आवश्यक कागजात दर्ता गर्नुपर्नेछ। ती दस्तावेजमा कम्पनीको आम्दानी, खर्च, ऋण, नाफा–नोक्सान तथा भविष्यका व्यापारिक योजनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ।
विश्लेषकहरूका अनुसार स्पेसएक्सको आईपीओले विश्व वित्तीय बजारमा ठूलो प्रभाव पार्न सक्छ। पछिल्ला वर्षहरूमा सुस्त रहेको प्रविधि कम्पनीहरूको आईपीओ बजारलाई यसले पुनः सक्रिय बनाउन सक्ने अपेक्षा गरिएको छ।
स्पेसएक्स हाल निजी कम्पनीका रूपमा सञ्चालन हुँदै आएको छ। कम्पनीले अन्तरिक्ष प्रक्षेपण सेवा, मानव अन्तरिक्ष यात्रा तथा मंगल ग्रहसम्म मानव पुर्याउने दीर्घकालीन लक्ष्यसहित विश्वव्यापी पहिचान बनाएको छ। यद्यपि, कम्पनीले हालसम्म आईपीओ योजनाबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन।

