Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सिद्धबाबा सुरुङमार्ग ६८ प्रतिशत सम्पन्न, असोजदेखि सवारी सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्ग ६८ प्रतिशत सम्पन्न, असोजदेखि सवारी सञ्चालन गर्ने तयारी

आर्थिक पत्र
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं । सिद्धबाबा सुरुङमार्ग आयोजनाको निर्माण कार्य ६८ प्रतिशत पूरा भएको छ । वर्षौंदेखि पहिरो र चट्टान खस्ने जोखिमका कारण त्रासपूर्ण यात्रा बन्ने गरेको सिद्धबाबा क्षेत्रमा अब सुरक्षित आवागमनको आशा बढेको छ ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माण भइरहेको यो सुरुङमार्गबाट आगामी असोजदेखि सवारी सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको परियोजनाको वित्तीय प्रगति हालसम्म ५८ प्रतिशत पुगेको आयोजना प्रमुख राजेश पौडेलले जानकारी दिए ।

    पाँच वर्षे निर्माण अवधि रहेको आयोजना इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा निर्माण भइरहेको छ। यस मोडलअन्तर्गत डिजाइनदेखि निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीलाई दिइएको छ ।

    आयोजनाका अनुसार सुरुङ सञ्चालनमा आएपछि पाँच वर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी सम्हाल्नेछ । त्यसपछि थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डिएलपी) लागू हुनेछ ।

    सिद्धबाबा क्षेत्रमा हरेक वर्ष वर्षायाममा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा मानवीय क्षति हुने समस्या दोहोरिँदै आएको छ । यही जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सुरुङमार्ग निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार परियोजनाको मुख्य उद्देश्य दूरी घटाउनु भन्दा पनि यात्रुलाई सुरक्षित यात्रा सुनिश्चित गर्नु हो ।

    प्रारम्भिक चरणमा भने कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माण प्रभावित भएको थियो । नेपालमा पहिलो पटक प्रयोग गरिएको इपिसी मोडलका कारण कागजी प्रक्रिया जटिल बनेको थियो भने रुख कटान अनुमति, बजेट व्यवस्थापनलगायत विषयमा ढिलाइ हुँदा कामले अपेक्षित गति लिन सकेको थिएन । अहिले ती अधिकांश समस्या समाधानउन्मुख रहेको आयोजनाको भनाइ छ ।

    सुरुङसँगै सडक र बाहिरी संरचना निर्माणको काम पनि भइरहेको छ । सुरुङ सञ्चालनपछि जोखिमयुक्त भिर क्षेत्रमा संरक्षण संरचना निर्माण गरिनेछ भने पैदल यात्रुका लागि सुरक्षित मार्ग र खानेपानी व्यवस्थापनको योजना पनि समावेश गरिएको छ ।

    सुरुआती अनुमानमा करिब १० अर्ब रुपैयाँ लागत लाग्ने भनिएको आयोजना प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ७ अर्ब रुपैयाँमा सम्झौता गरिएको थियो । आयोजना सम्पन्न भएपछि बुटवल–पाल्पा सडकखण्डको यात्रा थप सुरक्षित, सहज र भरपर्दो बन्ने अपेक्षा गरिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार