काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक विवादको घेराबाट बाहिर निकालेर विकास, लगानी र आर्थिक साझेदारीमा आधारित बनाउनुपर्ने प्रस्ताव गरेका छन्।
भारतको प्रमुख दैनिक Hindustan Times मा प्रकाशित लेखमार्फत उनले दुई देशबीचको सम्बन्धको नयाँ शब्दावली आवश्यक रहेको उल्लेख गर्दै ‘विकास कूटनीति’लाई केन्द्रमा राख्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्।
उनले नेपाल–भारत सम्बन्धलाई अब राजनीतिक र कूटनीतिक संवादमा मात्र सीमित नराखी व्यापार, ऊर्जा, पर्यटन, पूर्वाधार, प्रविधि र खेलकुदसम्म विस्तार गर्नुपर्ने बताएका छन्। कूटनीतिक नियोगहरूलाई समेत राजनीतिक सम्पर्क केन्द्रभन्दा लगानी र आर्थिक सहकार्यको इन्जिनका रूपमा विकास गर्नुपर्ने उनको सुझाव छ।
पाँचदिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका लामिछानेले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। भेटमा लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव आदानप्रदान तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने बताइएको छ। लेखमार्फत लामिछानेले नेपाल–भारत सहकार्यका लागि आठ प्रमुख प्रस्ताव अघि सारेका छन्।
सीमा विवाद समाधानमा संवादको बाटो
उनले सीमा लगायतका विवादलाई लामो समयसम्म थाती राख्नु उचित नहुने उल्लेख गर्दै ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा संवादमार्फत समाधान खोज्नुपर्ने बताएका छन्। अतिराष्ट्रवादी भाषणभन्दा व्यवहारिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
रक्सौल–काठमाडौं रेलमार्गलाई प्राथमिकता
लामिछानेले प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गलाई दुई देशबीचको सबैभन्दा महत्वपूर्ण आर्थिक परियोजनाका रूपमा व्याख्या गरेका छन्। रेलमार्ग सञ्चालनमा आए व्यापार, पर्यटन, ढुवानी र क्षेत्रीय सम्पर्कमा ठूलो परिवर्तन आउने उनको विश्वास छ।
पोखरा र लुम्बिनीबाट भारतमा सिधा उडान
नेपालका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरूको उपयोग बढाउन पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता भारतीय शहरमा सिधा हवाई सेवा सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि उनले गरेका छन्।
काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर
सूचना प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्न ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’ निर्माणको अवधारणा अघि सार्दै उनले डिजिटल भुक्तानी, फिनटेक र सीमापार डिजिटल सेवामार्फत दुवै देशका उद्यमीलाई लाभ पुग्ने बताएका छन्।
नेपालमा आईआईटी र एम्सजस्ता संस्था
भारतीय प्रविधि कम्पनी, विश्वविद्यालय र स्टार्टअपहरूलाई नेपालमा नवप्रवर्तन केन्द्र तथा प्रविधि हब स्थापना गर्न आग्रह गर्दै उनले भविष्यमा नेपालमै आईआईटी र एम्सजस्ता प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्था विस्तार गर्न सकिने धारणा राखेका छन्।
सीमाक्षेत्रमा रासायनिक मल उद्योग
भारतको गुजरात राज्यको औद्योगिक विकासबाट प्रेरणा लिँदै नेपाल–भारत सीमाक्षेत्रमा संयुक्त रूपमा रासायनिक मल उद्योग स्थापना गर्न सकिने प्रस्ताव पनि उनले गरेका छन्। यसले कृषि उत्पादन र आपूर्ति प्रणालीलाई बलियो बनाउने उनको तर्क छ।
ऊर्जा बजार एकीकरणको प्रस्ताव
नेपालको जलविद्युत् सम्भावनालाई भारतका औद्योगिक क्षेत्रसँग जोड्दै एकीकृत ऊर्जा बजार निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्। साथै आधुनिक एकीकृत जाँच चौकी (आईसीपी), सहज ट्रान्जिट प्रणाली र व्यापारिक अवरोध हटाउनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
आईपीएलमा नेपाली सहभागिताको कल्पना
खेलकुदलाई पनि दुई देशबीचको सहकार्यको महत्वपूर्ण क्षेत्रका रूपमा उल्लेख गर्दै लामिछानेले भविष्यमा नेपाली खेलाडी मात्र नभई नेपाली रंगशालासमेत आईपीएल फ्रेन्चाइज संरचनासँग जोडिन सक्ने सम्भावनाबारे सोच्नुपर्ने बताएका छन्।
लेखको अन्त्यमा उनले नेपालमा भएको राजनीतिक परिवर्तनलाई ‘ब्यालट बक्स क्रान्ति’को संज्ञा दिँदै नयाँ पुस्ताले विकास, सुशासन र प्रत्यक्ष जवाफदेहितामा आधारित राजनीति रोजिरहेको दाबी गरेका छन्। साथै नेपाल–भारत सम्बन्धलाई विगतका विवादभन्दा साझा अवसर र भविष्यका सम्भावनाका आधारमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

