Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

आर्थिक पत्र
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन्। नेपालमा विशेष गरी जलनको उपचार, पुनःस्थापनामा सहयोग र डायलासिस सेवाको पहुँच र गुणस्तरीय स्वास्थ्य सेवाको बढ्दो आवश्यकतालाई मनन गर्दै दुवै पक्षहरु यस क्षेत्रमा सहकार्य गर्ने आशयपत्रमा उल्लेख छ ।

    रणनीतिक साझेदारीअन्तर्गत, नबिल बैंकले नेपालभरि जलनका बिरामीहरुको सघन उपचार, कृत्रिम अंग जडान र डायलासिस सेवा विस्तार गर्न धुलिखेल अस्पताललाई ६ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ। दुई पक्षबीच भएको सम्झौताअनुसार धुलिखेल अस्पतालमा १० शय्याको सघन जलन उपचार कक्ष स्थापना गरिनेछ र अस्पताल व्यवस्थापनको नेतृत्वमा अन्य प्रदेशहरुमा पनि यस्तै सुविधाहरु विस्तार गरिनेछ । यसका साथै बैंकले दुई वटा कृत्रिम अंग जडान तथा पुनःस्थापना सेवा एकाईहरु स्थापना गर्न र डायलासिस सेवाहरुलाई थप सुदृढ बनाउन पनि सहयोग गरेको हो ।

    बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले मानिसको जीवनमा सार्थक परिवर्तन ल्याउने विषयमा नबिल बैक र धुलिखेल अस्पतालको एकै उद्देश्य रहेकाले यस सहकार्यले सार्थकता पाउने विश्वास व्यक्त गरे । “हामीले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्दै आएका छौं, सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्दा हामीले जहिले पनि कति जनाको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्यौं भन्ने मानक राख्ने गर्दछौं। धुलिखेल अस्पताल पनि यस्तै उद्धेश्यका साथ संचालित अस्पताल हो । यही कारण अस्पतालसँगको यस सहकार्यद्वारा हामीले सँगै धेरै मानिसहरुको जीवनमा परिवर्तन ल्याउन सक्छौं भन्ने मलाई विश्वाश छ।” अध्यक्ष चौधरीले भने।

    सिइओ ज्ञवालीले यस साझेदारीमार्फत समग्र मुलुक र विशेष गरी गरिब तथा सीमान्तकृत समुदायका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा विश्वास व्यक्त गरे । “नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई दायित्व नभई बैकंको समाजप्रतिको प्रतिबद्धताको रुपमा लिने गरेको छ। आज हामीले धुलिखेल अस्पतालसँग जुन उद्देश्यका साथ काम सुरु गरेका छौं त्यसमा कुनै कमी हुन नदिने म प्रतिबद्धता जनाउँछु।” उनले भने ।

    धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा। रामकण्ठ माकजु श्रेष्ठले धुलिखेल अस्पतालले स्थापनाकालदेखि नै समुदायलाई गुणस्तरीय र सुलभ चिकित्सा सेवा प्रदान गर्दै आएको उल्लेख गरे । “धुलिखेल अस्पताल समुदायमा आधारित अस्पताल हो, हामीले सुरुदेखि नै हजारौं मानिसहरूलाई गुणस्तरीय र सुलभ सेवा दिँदै आएका छौं । नबिल बैंकसँगको यो साझेदारीले हामीलाई जलन, कृत्रिम अंगसम्बन्धी उपचार र पुनःस्थापनाका साथै डायलासिस सेवामा थप सेवा प्रदान गर्न मद्दत गर्नेछ।” श्रेष्ठले भने ।

    सम्झौता तीन वर्षसम्म लागू हुने बैंकले जनाएको छ । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थाहरूसँगको साझेदारीमा स्वास्थ्य क्षेत्रमा विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ । हालै बैंकले सुदूरपश्चिम, कर्णाली, मधेश र लुम्बिनी प्रदेशमा जलनका बिरामीहरूका लागि शल्यक्रिया शिविर सञ्चालन गरेको थियो । जसबाट ५०० जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए । त्यसमध्ये १३० जना बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

    बैंकले नवलपरासी सुस्ता पूर्वको प्रादेशिक अस्पताल र बर्दघाटको चिसापानी अस्पतालमा रहेका कृत्रिम अंग केन्द्रहरूलाई पनि सहयोग गर्दै आएको छ । यी केन्द्रहरूले ३०० भन्दा बढी लाभग्राहीहरूलाई निःशुल्क कृत्रिम अंग प्रदान गरिसकेका छन् । ज्ञवालीका अनुसार बिमारीहरुलाई गुणस्तरीय उपचार प्रदान गर्ने, कृत्रिम अंग र पुनर्वास सेवा र डायलिसिस उपचार सेवा प्रदान गर्ने भनी बैंकले लिएको उद्देश्य नेपाल सरकारले देशभरका बिरामीहरुलाई सुलभ र पहुँचयोग्य उपचार सुनिश्चित गर्ने भनी लिएको लक्ष्यसँग पनि मिल्दछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार