काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अन्तर्राष्ट्रिय तेल बजारमा उल्लेखनीय गिरावट देखिएको छ । केही समयदेखि मध्यपूर्वमा बढ्दो तनावका कारण अस्थिर बनेको विश्व ऊर्जा बजारले सम्झौतापछि राहतको संकेत दिएको छ ।
यद्दपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परेमा पुनः सैन्य कारबाही गर्न सकिने चेतावनी दिएपछि बजारमा केही समयका लागि उतारचढाव देखिएको थियो । यो समाचार तयार पार्दै गर्दा ( १०ः४५ बजे) ब्रेन्ट क्रुड आयलको मूल्य २.२३ प्रतिशतले घटेर प्रति ब्यारेल ७७.७७ डलरमा कारोबार हुँदैछ ।
यो मूल्य अमेरिका र इजरायलले गत फेब्रुअरीमा इरानविरुद्ध सैन्य अभियान सुरु गर्नुअघिको स्तरभन्दा करिब ७ प्रतिशत मात्र बढी हो । क्रुड आयल भने २.६१ प्रतिशतले घटेर ७४.८० डलरमा कारोबार हुँदैछ ।
विश्लेषकहरुका अनुसार युद्ध अन्त्य हुने संकेत र ऊर्जा आपूर्ति मार्गहरु पुनः सञ्चालन हुने सम्भावनाले तेल बजारमा सकारात्मक प्रभाव पारेको हो । सम्झौतापछि विशेष ध्यान स्ट्रेड अफ हर्मोज तर्फ केन्द्रित भएको छ। विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक मानिने यो जलमार्ग लामो समयदेखि युद्ध र नाकाबन्दीका कारण प्रभावित बनेको थियो ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका–इरान समझदारीपत्र तत्काल प्रभावबाट लागू भएको घोषणा गर्दै इरानले स्ट्रेड अफ हर्मोज पुनः सञ्चालन गर्ने र अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने बताएका छन् । यदि यो प्रक्रिया सफलतापूर्वक कार्यान्वयन भयो भने विश्व बजारमा तेल आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
युद्धका कारण स्ट्रेड अफ हर्मोज हुँदै हुने जहाज आवागमन सामान्य अवस्थाको तुलनामा निकै कम भएको थियो । हाल सयौं जहाज खाडी क्षेत्रबाट बाहिरिन प्रतीक्षारत रहेको अनुमान गरिएको छ ।
यद्दपि, अन्तर्राष्ट्रिय जल यातायात कम्पनीहरु अझै सतर्क देखिएका छन् । उनीहरुले सुरक्षा सुनिश्चित गर्ने स्पष्ट मार्गनिर्देशन नआएसम्म पूर्ण रुपमा सञ्चालन पुनः सुरु गर्न हिच्किचाहट देखाएका छन् ।
विश्वका प्रमुख जहाज मालिकहरुको संगठन बीआइएमसीओले अमेरिका र इरानले अझै सुरक्षित मार्ग, समयसीमा तथा सुरक्षा व्यवस्थाबारे स्पष्ट जानकारी नदिएको अल ज जिराले जनाएको छ ।
संगठनका सुरक्षा अधिकारी याकोब लार्सनका अनुसार हालको अवस्था अझै जोखिमपूर्ण भएकाले जहाज मालिकहरुले विस्तृत जोखिम मूल्यांकन जारी राख्नुपर्ने आवश्यकता छ।
तेल मूल्य घट्नुको अर्को कारण अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको पछिल्लो प्रक्षेपण पनि हो। एजेन्सीले सन् २०२७ सम्म विश्व तेल आपूर्ति प्रतिदिन ८० लाख ब्यारेलले बढ्ने अनुमान गरेको छ, जबकि माग वृद्धि केवल २० लाख ब्यारेल प्रतिदिन हुने अपेक्षा गरिएको छ।
यसले आगामी वर्षहरुमा तेलको आपूर्ति मागभन्दा धेरै हुन सक्ने र मूल्यमा थप दबाब पर्न सक्ने संकेत गरेको छ। यद्यपि अमेरिका र इरानबीचको सम्झौताले विश्व ऊर्जा बजारलाई तत्काल राहत दिएको छ ।
यसको दीर्घकालीन प्रभाव भने अझै वार्ता प्रक्रियाको सफलतामा निर्भर रहनेछ। आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध तथा क्षेत्रीय सुरक्षाजस्ता जटिल विषयहरुमा थप सहमति हुन बाँकी छ। त्यसैले वर्तमान शान्ति सम्झौतालाई स्थायी समाधानभन्दा पनि स्थायित्वतर्फको महत्वपूर्ण प्रारम्भिक कदमका रुपमा हेरिएको छ।

