लन्डन। बेलायती राजतन्त्रमा पारदर्शिता बढाउने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्। यससँगै उनी व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन्ने अपेक्षा गरिएको छ।
बेलायती सञ्चारमाध्यमहरूका अनुसार बकिङ्घम दरबारले सार्वभौम अनुदान (सोभरेन ग्रान्ट) सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा राजाको व्यक्तिगत कर विवरणसमेत सार्वजनिक गर्ने तयारी गरेको हो। सार्वभौम अनुदानमार्फत बेलायती करदाताले राजपरिवारका आधिकारिक गतिविधिका लागि आर्थिक सहयोग गर्दै आएका छन्।
गत वर्ष दरबारले १५९ पृष्ठ लामो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ८ करोड ६३ लाख पाउन्ड खर्चको विवरण सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनमा दरबार नवीकरणलगायतका खर्चहरू पनि समेटिएका थिए।
राजा चार्ल्सले वेल्सका राजकुमार रहँदा आफ्नो निजी आम्दानीमा तिरेको करबारे जानकारी सार्वजनिक गर्ने गरेका थिए। तर सन् २०२२ मा रानी एलिजाबेथ द्वितीयको निधनपछि सिंहासनमा आरोहण गरेयता उनले पहिलोपटक राजाको हैसियतमा व्यक्तिगत कर विवरण सार्वजनिक गर्न लागेका हुन्। वेल्सका राजकुमार विलियमले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
हालै राजपरिवारका सदस्य एन्ड्र्यु माउन्टब्याटन–विन्डसरसँग जोडिएका विवादपछि राजतन्त्रको आर्थिक तथा प्रशासनिक गतिविधिमा थप पारदर्शिता आवश्यक रहेको बहस बेलायतमा चर्किएको छ। राजाका कान्छा भाइ एन्ड्र्युलाई सार्वजनिक पदको दुरुपयोगसम्बन्धी आरोपपछि शाही जिम्मेवारीबाट अलग गरिएको थियो।
दरबार निकट स्रोतहरूका अनुसार राजतन्त्रप्रति जनविश्वास बढाउने, जवाफदेहिता सुदृढ गर्ने तथा आधुनिक लोकतान्त्रिक मूल्यअनुसार संस्था सञ्चालन गर्ने उद्देश्यले चार्ल्सले यो निर्णय लिएका हुन्। उनले लामो समयदेखि राजसंस्थालाई सानो, कम खर्चिलो र बढी उत्तरदायी बनाउने पक्षमा वकालत गर्दै आएका छन्।
राजा चार्ल्सको व्यक्तिगत सम्पत्ति करिब ६८ करोड पाउन्ड रहेको अनुमान छ। उनी बेलायतका धनी व्यक्तिहरूको सूचीमा शीर्ष २५० भित्र पर्छन्। कानुनी रूपमा राजालाई आयकर तिर्नुपर्ने बाध्यता नभए पनि उनले आफ्नो निजी आम्दानीमा स्वेच्छिक रूपमा कर तिर्दै आएका छन्। सन् १९९३ मा विन्डसर क्यासलमा आगलागी भएपछि बढेको सार्वजनिक दबाबका कारण रानी एलिजाबेथ द्वितीयले पनि स्वेच्छिक रूपमा कर तिर्न सुरु गरेकी थिइन्।
सार्वजनिक गरिने विवरण निजी आम्दानीसँग सम्बन्धित हुने जनाइएको छ। राजाको आम्दानीको मुख्य स्रोत स्कटल्यान्डस्थित बालमोरल एस्टेट, इङ्ग्ल्यान्डको स्यान्ड्रिङ्घम एस्टेट, बचत तथा लगानी हुन्। करिब ५० हजार एकड क्षेत्रफलमा फैलिएको बालमोरल र २० हजार एकड क्षेत्रफलको स्यान्ड्रिङ्घमबाट पर्यटन, कृषि तथा सम्पत्ति व्यवस्थापनमार्फत आम्दानी हुने गरेको छ।
यद्यपि सार्वभौम अनुदान तथा राजकीय जिम्मेवारी पूरा गर्न प्रयोग हुने आम्दानीमा भने कर लाग्दैन। राजकुमार विलियमको मुख्य निजी आम्दानी डची अफ कर्नवालबाट प्राप्त हुने गरेको छ। करिब एक लाख ३० हजार एकड क्षेत्रफलमा फैलिएको उक्त सम्पत्तिले गत वर्ष २ करोड २९ लाख पाउन्ड नाफा गरेको जनाएको थियो।
राजा चार्ल्सको व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने निर्णयलाई बेलायती राजतन्त्रलाई थप पारदर्शी, उत्तरदायी र आधुनिक संस्थाका रूपमा स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ।

