काठमाडौं। नेपालमा बैंकिङ सेवा तीव्र रूपमा डिजिटल माध्यममा रूपान्तरण हुँदै जाँदा बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो शाखा सञ्जाल पुनर्संरचना गर्न थालेका छन्। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी तथा अन्य डिजिटल सेवाको प्रयोग उल्लेखनीय रूपमा बढेसँगै भौतिक शाखामाथिको निर्भरता घट्न थालेको छ। यही परिवर्तनको प्रभावस्वरूप चालु आर्थिक वर्षको पहिलो १० महिनामै देशभरका बैंक तथा वित्तीय संस्थाका १४९ वटा शाखा बन्द भएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार शाखा संख्या घट्नुको मुख्य कारण शाखा समायोजन ब्रान्च कन्सोलिडेसन नीति हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत एउटै बैंकका धेरै शाखा एउटै महानगरपालिका वा सहरी क्षेत्रमा सञ्चालन भइरहेका अवस्थामा आवश्यकताअनुसार ती शाखा गाभ्न अनुमति दिएको थियो। उक्त व्यवस्थापछि बैंकहरूले सञ्चालन खर्च घटाउने, स्रोत–साधनको प्रभावकारी उपयोग गर्ने तथा डिजिटल माध्यमबाट सेवा विस्तार गर्ने रणनीतिअनुसार शाखा एकीकरणलाई तीव्रता दिएका हुन्।
महानगरमा शाखा गाभ्ने क्रम बढ्यो
काठमाडौं, ललितपुर, पोखरा लगायत देशका छवटा महानगरपालिका भित्र सञ्चालनमा रहेका एउटै बैंकका धेरै शाखा समायोजन गर्ने प्रक्रिया उल्लेखनीय रूपमा अघि बढेको छ। हालसम्म १० वटा वाणिज्य बैंकका झन्डै सवा सय शाखा गाभिसकिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
सहरी क्षेत्रमा ग्राहकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, क्यास डिपोजिट मेसिन ९सीडीएम० र क्यूआर भुक्तानीजस्ता डिजिटल माध्यमको व्यापक प्रयोग गर्न थालेपछि बैंकहरूले धेरै शाखा सञ्चालन गर्नु आवश्यक नरहेको निष्कर्ष निकाल्दै आएका छन्।
एनआईसी एसिया सबैभन्दा अगाडि
शाखा समायोजन गर्ने बैंकमध्ये एनआईसी एसिया बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले एक्लैले ४४ वटा शाखा गाभेको छ।
त्यसपछि कुमारी बैंक ले २४ शाखा, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ले १८ शाखा तथा प्रभु बैंक ले १२ शाखा समायोजन गरेका छन्।
विकास बैंकतर्फ महालक्ष्मी विकास बैंक ले पनि ४ वटा शाखा एकीकरण गरेको छ।
बैंकहरूले समान सेवा क्षेत्रभित्र रहेका शाखा एकीकृत गर्दै कर्मचारी व्यवस्थापन, भवन भाडा, सञ्चालन खर्च तथा प्रशासनिक लागत घटाउने रणनीति अपनाएका छन्।
पाँच हजारमुनि झर्यो शाखा संख्या
शाखा समायोजनको प्रत्यक्ष प्रभाव वाणिज्य बैंकहरूको कुल शाखा संख्यामा देखिएको छ।
चालु आर्थिक वर्षको सुरुआतमा ५ हजारभन्दा बढी रहेका वाणिज्य बैंकका शाखा अहिले घटेर ४ हजार ९६३ मा सीमित भएका छन्।
त्यसैगरी विकास बैंकका शाखा संख्यामा पनि कमी आएको छ। यद्यपि फाइनान्स कम्पनीहरूले भने केही नयाँ शाखा विस्तार गरेका कारण त्यस समूहमा सामान्य वृद्धि देखिएको छ।
यसले बैंकिङ क्षेत्र विस्तारको मोडेल भौतिक शाखाबाट डिजिटल पहुँचतर्फ रूपान्तरण भइरहेको स्पष्ट संकेत गरेको छ।
किन घट्दैछन् शाखा ?
बैंकिङ क्षेत्रका विश्लेषकहरूका अनुसार शाखा समायोजनको मुख्य उद्देश्य सञ्चालन खर्च घटाउनु, सेवा प्रवाहलाई प्रभावकारी बनाउनु तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिनु हो।
पछिल्ला केही वर्षयता ग्राहकहरूले नगद कारोबारभन्दा डिजिटल भुक्तानी, मोबाइल बैंकिङ, फन्ड ट्रान्सफर, अनलाइन खाता सञ्चालन र डिजिटल कर्जा सेवाको प्रयोग बढाउँदै लगेका छन्। यसले दैनिक शाखा पुग्ने ग्राहकको संख्या उल्लेखनीय रूपमा घटाएको छ।
अर्कोतर्फ, बैंकहरूले पनि कृत्रिम बुद्धिमत्ता (एआई), स्वचालित सेवा प्रणाली, सेल्फ–सर्भिस कियोस्क तथा डिजिटल ग्राहक सेवा प्लेटफर्ममा लगानी बढाइरहेकाले भौतिक शाखाको आवश्यकता क्रमशः कम हुँदै गएको छ।
ग्रामीण क्षेत्रमा भने शाखा विस्तारको आवश्यकता
यद्यपि शाखा समायोजन मुख्यतः शहरी तथा महानगर क्षेत्रमै सीमित रहेको देखिन्छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा भने अझै पनि बैंकिङ पहुँच विस्तार आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
वित्तीय पहुँच बढाउन राष्ट्र बैंकले स्थानीय तहमा न्यूनतम बैंकिङ सेवा सुनिश्चित गर्ने नीति कायम राखेकाले ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार नयाँ शाखा विस्तारको प्रक्रिया भने जारी रहने अपेक्षा गरिएको छ।
आगामी दिनमा पनि जारी रहने संकेत
बैंकिङ क्षेत्रको डिजिटल रूपान्तरण अझ तीव्र बन्दै गइरहेका कारण आगामी दिनमा पनि सहरी क्षेत्रमा शाखा गाभ्ने र सञ्चालन खर्च घटाउने रणनीति निरन्तर अघि बढ्ने विश्लेषण गरिएको छ।
डिजिटल प्रविधिको विस्तारसँगै बैंकहरू अब भौतिक पूर्वाधारभन्दा प्रविधिमा बढी लगानी गर्ने दिशामा उन्मुख देखिएका छन्। यसले ग्राहकलाई अझ छिटो, सहज र लागत–प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ भने बैंकहरूको सञ्चालन दक्षता पनि थप मजबुत हुने विश्वास गरिएको छ।

