Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

टिकटकले पछिल्लो तीन महिनामा नेपालमा १९ लाखभन्दा बढी भिडियो हटायो

टिकटकले पछिल्लो तीन महिनामा नेपालमा १९ लाखभन्दा बढी भिडियो हटायो

आर्थिक पत्र
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडाैं। छोटो आकारका मोबाइल भिडियोका लागि विश्वकै अग्रणी प्लेटफर्म टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धता अनुरूप सन् २०२६ को पहिलो त्रैमासिक (जनवरी-मार्च) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।

    यस प्रतिवेदनमा टिकटकले आफ्ना नियम तथा नीतिहरू उल्लंघन गर्ने कन्टेन्टहरूलाई पहिचान गरी हटाउन चालेका सक्रिय कदमहरूको विस्तृत विवरण समेटिएको छ।

    प्रतिवेदन अनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा नेपालमा मात्रै कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेका १९ लाख ६१ हजार ६ सय ९८ (१,९६१,६९८) वटा भिडियोहरू हटाइएका छन्, जुन यो अवधिमा नेपालबाट प्रकाशित कुल भिडियोको करिब शून्य दशमलव ४ प्रतिशत हो।

    नेपालमा नियम उल्लंघन गर्ने कन्टेन्टलाई सक्रिय रूपमा हटाउने दर ९९.२ प्रतिशत रहेको थियो, जसमध्ये ८६.५ प्रतिशत भिडियो पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको थियो भने थप समीक्षापछि ६१ हजार ९ सय ९२ वटा भिडियो पुनःस्थापित समेत गरिएको थियो।

    विश्वव्यापी रूपमा हेर्दा, यसै अवधिमा टिकटकले १८४ मिलियनभन्दा बढी (१८४,०१२,५७६) वटा भिडियो हटाएको छ, जुन प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब शून्य दशमलव ५ प्रतिशत हो।

    हटाइएका मध्ये १७८,०१४,१५४ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पहिचान गरी हटाइएको थियो भने थप समीक्षापछि ८,८३८,७१० वटा भिडियो पुनःस्थापित गरिएको प्रतिवेदनमा उल्लेख छ।

    विश्वभर कन्टेन्टलाई सक्रिय रूपमा हटाउने दर ९९.३ प्रतिशत पुगेको थियो र फ्ल्याग गरिएका कन्टेन्टमध्ये ९४.४ प्रतिशत पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको थियो।

    टिकटकको विश्वसनीयता र निष्ठा कायम राख्ने प्रयासअन्तर्गत यस त्रैमासिकमा ८६,२८८,७०५ वटा फेक (नक्कली) एकाउन्ट र १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका २५,७६४,३७२ वटा एकाउन्टहरू पनि प्लेटफर्मबाट हटाइएका छन्।

    प्रतिवेदनले टिकटकको कन्टेन्ट मोडेरेसन प्रणाली निरन्तर विकसित हुँदै गएको र अहिले अधिकांश नियम उल्लङ्घन गर्ने कन्टेन्टहरू अटोमेसन प्रविधिमार्फत नै हटाइने गरेको देखाएको छ। भिडियो हटाउने दर स्थिर रहँदा कमेन्ट हटाउने दर घटेर करिब शून्य दशमलव २ प्रतिशतमा पुगेको छ भने टिकटक लाइभमा हुने गतिविधिमाथिको निगरानीलाई थप कडा बनाइएको छ।

    लाइभ प्रसारण सस्पेन्सन दर बढेर २.७ प्रतिशत पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो। यस अवधिमा टिकटकले ५८,२०७,३८९ वटा लाइभ सेसन र २१,९६६,६६७ जना लाइभ क्रियटरहरूमाथि चेतावनी दिने वा मनिटाइजेसन बन्द गर्ने कारबाही गरेको छ भने थप समीक्षापछि ४,१७१,६७७ वटा लाइभ सेसन पुनःस्थापित गरिएको छ।

    सिर्जनशीलतालाई प्रेरित गर्ने र खुसी फैलाउने उद्देश्य बोकेको तथा लस एन्जलस र सिङ्गापुरमा विश्वव्यापी मुख्यालय रहेको टिकटकले पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै थप जानकारीका लागि अंग्रेजी भाषामा उपलब्ध टिकटक ट्रान्सपेरेन्सी सेन्टर हेर्न आग्रह गरेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार