काठमाडौं । राहदानी विभागले नयाँ प्रणालीमा सेवा रूपान्तरण (माइग्रेसन) गर्न लागेकाले आजदेखि दुई दिन राहदानीसम्बन्धी सेवा बन्द हुने जनाएको छ।
विभागका अनुसार हाल सञ्चालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रविधिमा स्थानान्तरण गर्ने कार्य भइरहेकाले आज र भोलि नयाँ राहदानी आवेदन, नवीकरण तथा अन्य राहदानीसम्बन्धी सेवाहरू उपलब्ध हुने छैनन्।
यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण दुई दिन सेवा अवरुद्ध हुने जानकारी दिएको थियो।
यद्यपि, विभागले पहिले नै तयार भइसकेका राहदानीको वितरण भने नियमित रूपमा जारी रहने जनाएको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा उपस्थित भई आफ्नो राहदानी बुझ्न सक्ने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ।
विभागले नयाँ प्रणाली लागू भएपछि राहदानी सेवा थप प्रभावकारी, सुरक्षित र सेवाग्राहीमैत्री हुने अपेक्षा गरेको छ। साथै, सेवाग्राहीलाई अत्यावश्यकबाहेक नयाँ आवेदनका लागि दुई दिनपछि मात्र विभागमा आउन अनुरोध गरिएको छ।

