Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

लाल सागर र होर्मुज तनावले कच्चा तेलको मूल्य ६ साताकै उच्च विन्दुमा

लाल सागर र होर्मुज तनावले कच्चा तेलको मूल्य ६ साताकै उच्च विन्दुमा

आर्थिक पत्र
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं । मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ सातायताकै उच्च स्तरमा पुगेको छ । यमनका हुथी विद्रोहीले लाल सागरमा तेल ट्यांकरहरूलाई निशाना बनाएको र संयुक्त राज्य अमेरिकाले इरानमाथि नयाँ चरणको आक्रमण सुरु गरेपछि तेलको मूल्यमा तीव्र वृद्धि भएको रोयटर्सले जनाएको छ ।

    बिहीबार एसियाली कारोबारका क्रममा ब्रेन्ट क्रुडको मूल्य २.३ प्रतिशतले बढेर प्रतिव्यारेल ९६.२७ अमेरिकी डलर वरपर कारोबार हुँदैछ, यो जुन ८ यताकै उच्च स्तर हो । अघिल्लो कारोबार दिन ब्रेन्ट तेलको मूल्य ९४.०७ डलरमा बन्द भएको थियो । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई) कच्चा तेलको मूल्य बढेर प्रतिव्यारेल ८८.४८ डलर आसपास कारोबार हुँदैछ । अघिल्लो दिन डब्लुटिआईको मूल्य पनि करिब ३ प्रतिशतले बढेको थियो।

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्सले होर्मुज जलडमरूमध्यको दक्षिणी क्षेत्रमा बारुदी सुरुङ राखिएको मार्ग हुँदै यात्रा गर्ने क्रममा एउटा तेल ट्यांकर विस्फोटपछि आगलागीमा परेको जनाएको छ। अन्य दुई ट्यांकर भने बीचबाटै फर्किएको बताइएको छ।

    गार्ड्सले जारी गरेको वक्तव्यमा होर्मुज जलडमरूमध्य आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै अमेरिकी सैन्य गतिविधि जारी रहेसम्म उक्त क्षेत्र “पूर्ण रूपमा बन्द” रहेको जनाएको छ। इरानको समन्वयबिना कुनै पनि तेल ट्यांकरलाई प्रवेश वा बाहिरिन नदिने चेतावनीसमेत दिइएको छ।

    यसैबीच, इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाको तेल बोक्ने जहाजहरूलाई बाब–अल–मन्देब जलडमरूमध्यमा निशाना बनाउने घोषणा गर्दै साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी सुरु गरेको दाबी गरेका छन्। हुथी समूहले दुई साउदी तेल ट्यांकरमाथि सैन्य कारबाही गरेको र चेतावनीपछि करिब १० वटा जहाज फर्किन बाध्य भएको जनाएको छ।

    समुद्री सुरक्षा सम्बन्धी प्रारम्भिक प्रतिवेदनअनुसार हुथी समूहले उल्लेख गरेको साउदी झण्डावाहक तेल ट्यांकर ‘एन्सेलिया’ लाल सागरमा आक्रमणको शिकार भएको देखिएको छ। यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

    ऊर्जा बजार विश्लेषकहरूका अनुसार विश्व तेल आपूर्तिका लागि महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य र बाब–अल–मन्देब दुवै क्षेत्रमा एकैपटक उत्पन्न भएको जोखिमले बजारमा ठूलो दबाब सिर्जना गरेको छ।

    फिलिप नोभाकी वरिष्ठ बजार विश्लेषक प्रियंका सचदेवाले भूराजनीतिक जोखिम पुनः मूल्यमा समावेश हुन थालेको बताउँदै लामो समयसम्म मूल्य वृद्धि कायम रहन आपूर्ति अवरोध वा ढुवानीमा निरन्तर समस्या देखिनुपर्ने बताएकी छन्।

    एमएसटी मार्कीका ऊर्जा अनुसन्धान प्रमुख साउल काभोनिकका अनुसार लाल सागर क्षेत्रमा हुथीहरूको नाकाबन्दीले दैनिक करिब ५० लाख ब्यारेल तेल आपूर्तिमा असर पार्न सक्ने जोखिम रहेको छ। यो मार्ग होर्मुज जलडमरूमध्यलाई छलेर खाडी क्षेत्रको तेल विश्व बजारमा पुर्‍याउने प्रमुख वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ।

    यसैबीच अमेरिकी सेनाले इरानमाथि लगातार १२ औँ रात पनि हवाई आक्रमण जारी राखेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा कुनै जहाजमाथि इरानबाट आक्रमण भए त्यसको प्रत्युत्तरमा इरानका पूर्वाधार लक्ष्यहरू ध्वस्त पार्ने चेतावनी दिएपछि क्षेत्रीय तनाव अझ चर्किएको छ। विश्लेषकहरूले मध्यपूर्वको द्वन्द्व थप गहिरिँदै गए विश्व ऊर्जा आपूर्ति श्रृंखला प्रभावित हुन सक्ने र त्यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल बजारमा देखिने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार