Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

आर्थिक पत्र
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा बाहिरिएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

    व्यवस्थापन संकाय डिनको कार्यालयका अनुसार गत साउन ८ गते सञ्चालन भएको ‘एमजीटी ५१५: अर्घनाइजेशन बिहाभियर’ विषयको परीक्षाको प्रश्नपत्र परीक्षा सुरू भएको केही मिनेटमै सार्वजनिक भएको थियो।

    ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरू भएको पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेपछि फेसबुक पेज ‘टीयू स्टुडेन्ट्स’ ले स्क्रिनसटसहित त्रिविको ध्यानाकर्षण गराएको थियो।

    सार्वजनिक सामग्रीमा प्रश्नपत्र पठाइएको देखिनुका साथै त्यसपछि समाधानसमेत मागिएको सन्देश देखिएको थियो। घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न व्यवस्थापन केन्द्रीय विभागका प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।

    समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन्। व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसेद्वारा जारी विज्ञप्तिअनुसार समितिलाई कार्यभार सम्हालेको सात कार्यदिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

    यसैबीच, प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति, संस्था वा परीक्षा केन्द्रको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न त्रिविले नेपाल प्रहरीको साइबर ब्युरोलाई पनि पत्राचार गरेको जनाएको छ।

    व्यवस्थापन संकायका सहायक डिन डा. भरत राईले स्क्रिनसटमा देखिएका नाम र फोन नम्बरका आधारमा संलग्न व्यक्ति तथा संस्थाको पहिचान गरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार