Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

परराष्ट्रमन्त्री खनाल र मोरक्कोका राजदूतबीच भेट, के विषयमा भयो छलफल ?

परराष्ट्रमन्त्री खनाल र मोरक्कोका राजदूतबीच भेट, के विषयमा भयो छलफल ?

आर्थिक पत्र
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले सोमबार शिष्टाचार भेट गरेका छन्।

    सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा पाँच दशकभन्दा लामो इतिहास बोकेको नेपाल–मोरक्को मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    भेटका क्रममा मोरक्कोबाट नेपालमा रासायनिक मल आपूर्तिको सम्भावनासहित कृषि, नवीकरणीय ऊर्जा, पर्यटन, संस्कृति, यातायात तथा सम्पर्क सञ्जाल, तालिम र क्षमता अभिवृद्धिका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो।

    दुवै पक्षले नेपाल–मोरक्को द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक दुवै देशलाई अनुकूल हुने मितिमा काठमाडौंमा आयोजना गर्ने विषयमा पनि छलफल गरेका छन्। उक्त संयन्त्रमार्फत द्विपक्षीय सहयोगका समग्र क्षेत्रको समीक्षा गर्नुका साथै सहयोगका नयाँ सम्भावित क्षेत्र पहिचान र प्रवर्द्धन गर्न सहज हुने विश्वास व्यक्त गरिएको मन्त्रालयले जनाएको छ।

    राजदूत मलिकी मोरक्कोका राजा मोहम्मद छैटौँको गद्दी आरोहणको २७औँ वार्षिकोत्सव तथा मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा मोरक्को राजदूतावास र काठमाडौंस्थित मोरक्कोको अवैतनिक वाणिज्य दूतावासद्वारा आयोजित सांस्कृतिक कार्यक्रम, पर्यटन प्रवर्द्धनसम्बन्धी प्रदर्शनी, सेमिनार तथा स्वागत समारोहमा सहभागी हुन नेपाल आएका हुन्।

    यसैबीच, मोरक्कोको राष्ट्रिय दिवसको अवसरमा नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयले काठमाडौंमा विशेष प्रदर्शनी तथा समारोह आयोजना गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार