Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ग्यास अभाव अन्त्य गर्न निगमलाई निर्देशन, नवनियुक्त कार्यकारी निर्देशक शाहलाई मन्त्री यादवको ताकेता

ग्यास अभाव अन्त्य गर्न निगमलाई निर्देशन, नवनियुक्त कार्यकारी निर्देशक शाहलाई मन्त्री यादवको ताकेता

आर्थिक पत्र
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र शाहलाई देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान गर्न निर्देशन दिएकी छन्।

    सपथ ग्रहण गरी पदबहाली गरेपछि कार्यकारी निर्देशक शाहसँग भएको भेटमा मन्त्री यादवले उपभोक्ताले ग्यास अभावका कारण कुनै पनि अवस्थामा सास्ती भोग्न नपर्ने गरी आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिएकी हुन्।

    उनले अहिले देखिएको ग्यास आपूर्ति समस्यालाई तत्काल सम्बोधन गर्न आवश्यक सबै कदम चाल्न र आपूर्ति प्रणालीलाई नियमित, प्रभावकारी तथा उपभोक्तामैत्री बनाउन निगमलाई उच्च प्राथमिकताका साथ काम गर्न आग्रह गरिन्।

    मन्त्री यादवले दैलेखमा रहेको प्राकृतिक ग्यास स्रोतको शीघ्र उत्खनन गरी व्यावसायिक उत्पादनमा लैजान पनि निर्देशन दिएकी छन्। स्वदेशी ऊर्जा स्रोतको अधिकतम उपयोगमार्फत मुलुकलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्यअनुसार दैलेखको प्राकृतिक ग्यास परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

    भेटका क्रममा मन्त्री यादवले आयल निगमभित्र आन्तरिक सुशासन सुदृढ गर्न, संस्थागत पारदर्शिता र उत्तरदायित्व बढाउन तथा निगमप्रति जनविश्वास अभिवृद्धि हुने गरी परिणाममुखी काम गर्न पनि कार्यकारी निर्देशक शाहलाई निर्देशन दिइन्।

    उनले उपभोक्तामैत्री सेवा, सुशासन र स्वदेशी ऊर्जा स्रोतको प्रभावकारी उपयोग सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै निगमले त्यसअनुसार देखिने गरी काम गर्नुपर्ने बताइन्।

    नवनियुक्त कार्यकारी निर्देशक शाहले मन्त्रालयले दिएको निर्देशनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ग्यास आपूर्ति व्यवस्थापन सहज बनाउने, निगमको संस्थागत सुशासन सुधार गर्ने र उपभोक्ताको विश्वास कायम राख्ने गरी काम गर्ने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार