Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो, विदेशी विनिमयको भारले दबाब

विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो, विदेशी विनिमयको भारले दबाब

आर्थिक पत्र
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको खुद नाफा आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको छ। विदेशी विनिमय दरमा आएको परिवर्तनसँगै वित्तीय दायित्व, ब्याज तथा ह्रासकट्टी खर्च बढेपछि प्राधिकरणको खुद नाफा अघिल्लो वर्षको ८ अर्ब ९१ करोडबाट घटेर ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको हो।

    प्राधिकरणको खुद नाफा लगातार दोस्रो वर्ष घटेको हो। आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। त्यसपछि २०८१/८२ मा नाफा ८ अर्ब ९१ करोडमा झरेको थियो।

    प्राधिकरणका अनुसार विदेशी विनिमय दरमा भएको वृद्धिका कारण मात्रै दायित्व २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। विदेशी मुद्रामा रहेको दायित्वको लागत बढ्दा ब्याज तथा ह्रासकट्टी खर्चसमेत बढेको र त्यसको प्रत्यक्ष असर खुद नाफामा परेको प्राधिकरणको वित्तीय विवरणले देखाएको छ।

    तर प्राधिकरणको सञ्चालनतर्फ भने सुधार देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्री तथा अन्य स्रोतबाट कुल १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी भएको छ। विद्युत् बिक्रीबाट मात्रै १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ आम्दानी भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशत बढी हो।

    विद्युत् चुहावट नियन्त्रण, सञ्चालन दक्षतामा सुधार र विद्युत् निर्यात बढेपछि प्राधिकरणको कुल मुनाफा १३.१७ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि ७.२८ प्रतिशतले बढेर २४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

    यसले प्राधिकरणको मुख्य विद्युत् कारोबारबाट हुने आम्दानी र सञ्चालन क्षमता सुधारिएको देखाए पनि वित्तीय खर्च तथा विदेशी विनिमयको प्रभावका कारण अन्तिम खुद नाफा भने घटेको देखाउँछ।

    ७ खर्ब ७९ अर्ब पुग्यो सम्पत्ति

    प्राधिकरणको कुल सम्पत्ति ८.९ प्रतिशतले बढेर ७ खर्ब ७९ अर्ब १९ करोड २० लाख रुपैयाँ पुगेको छ। निर्माणाधीन पुँजीगत आयोजनामा २ खर्ब ६ अर्ब २६ करोड ७० लाख रुपैयाँ लगानी रहेको छ।

    समीक्षा अवधिमा ७४ अर्ब ६ करोड ६० लाख रुपैयाँ बराबरका आयोजना पुँजीकरण गरिएको प्राधिकरणले जनाएको छ।

    विद्युत् खपततर्फ पनि वृद्धि देखिएको छ। प्राधिकरणका अनुसार प्रतिग्राहक वार्षिक औसत विद्युत् खपत २ हजार ८८ युनिट पुगेको छ। औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ६८ पैसा रहेको छ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत ५ एम्पियर क्षमताका २५ लाख ८८ हजार ६२४ घरेलु ग्राहकलाई २१ करोड ७३ लाख ३२ हजार १६६ युनिट विद्युत् निःशुल्क उपलब्ध गराइएको छ।

    अनलाइन माध्यमबाट हुने महसुल संकलनमा उल्लेख्य वृद्धि

    विद्युत् महसुल भुक्तानीमा डिजिटल माध्यमको प्रयोग पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा अनलाइन माध्यमबाट मात्रै ४० अर्ब ९९ करोड रुपैयाँ महसुल संकलन भएको छ। अघिल्लो वर्ष यस्तो संकलन ३४ अर्ब ३३ करोड रुपैयाँ थियो।

    यसरी एक वर्षमा अनलाइन माध्यमबाट हुने महसुल संकलनमा उल्लेख्य वृद्धि भएको छ।

    समग्रमा प्राधिकरणको विद्युत् बिक्री, सञ्चालन मुनाफा, चुहावट नियन्त्रण र निर्याततर्फ सुधार भए पनि विदेशी विनिमयको दायित्व र वित्तीय खर्चका कारण खुद नाफामा दबाब परेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार