Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भोटेकोशीको बाढीले त्रिशूलीमा उर्लियो पानी, धादिङका बस्ती जोखिममा

भोटेकोशीको बाढीले त्रिशूलीमा उर्लियो पानी, धादिङका बस्ती जोखिममा

आर्थिक पत्र
बुधवार, भाद्र १० २०८३
  • धादिङ । त्रिशूली नदीमा आएको ठूलो बाढीका कारण धादिङका तटीय क्षेत्रमा जोखिम बढेको छ । बाढी मलेखुबाट तलतर्फ बढ्दै कुरिनटार आसपास पुग्न लागेको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् ।

    उनका अनुसार बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पक्की तथा झोलुंगे पुलहरू बाढीले बगाएको उनले बताइन् । यद्यपि, अहिलेसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिइन् ।

    नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भनिन्, ‘अब मलेखुबाट तल लाइसक्यो। अब लगभग कुरिनटार पुग्ने जस्तो भइसक्यो बाढी । बाढी एकदम ठुलो छ । अब बस्तीहरू चाहिँ सार्ने काम भइराखेको छ, मानवीय क्षति अहिलेसम्म भएको छैन । भौतिक क्षति चाहिँ धेरै ठुलो क्षति छ । पुलहरू, पक्की पुलहरू पनि बगाएको छ, झोलुङ्गे पुलहरू पनि बगाएको छ ।’

    प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार गल्छी, बैरेनी, मलेखुलगायत त्रिशूली नदी तथा खोलाका किनारमा रहेका बस्तीहरू उच्च जोखिममा छन् । जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताइन् ।

    उद्धार तथा स्थानान्तरणका लागि तीनवटै सुरक्षा निकायका टोली परिचालन गरिएको छ । अन्य जिल्लाबाट समेत सुरक्षा टोली परिचालन गरिएको र स्थानीय तहहरू पनि उद्धार तथा व्यवस्थापनमा जुटेको गौतमले जानकारी दिइन् ।

    उनले भनिन्, ‘यो जोखिम त गल्छी, बैरेनी, अब यो मलेखुदेखि लिएर अब यो खोला किनारको बस्तीहरू सबै जोखिममै छ । अब उद्धारको लागि सबै टिम परिचालन भएको छ । तीनवटै सुरक्षा निकायको टिम, अब अरू जिल्लाको सिङ्गो टिम, पालिकाहरू सबैजना हामी चाहिँ लागिरहेका छौं ।’

    तिब्बततर्फबाट रसुवास्थित भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा समेत पानीको बहाव बढेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार