नयाँदिल्ली । पश्चिम एसियामा जारी तनाव, उच्च ऊर्जा मूल्य र विश्व व्यापारमा देखिएको अनिश्चितताबीच भारतको अर्थतन्त्र आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमासमा ७.८ प्रतिशतले विस्तार भएको छ । भारतको तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार पहिलो त्रैमासमा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ८१.३६ लाख करोड भारतीय रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा अर्थतन्त्र ६.९ प्रतिशतले बढेको द हिन्दु विजनेस लाइनले जनाएको छ ।
भारतका प्रमुख आर्थिक सल्लाहकार वी. अनन्थ नागेश्वरनले विभिन्न क्षेत्रको योगदानका कारण अर्थतन्त्रले मजबुत प्रदर्शन गरेको बताए। उनका अनुसार उत्पादन र सेवा क्षेत्रको वृद्धि उल्लेखनीय रहँदा कृषि क्षेत्रले पनि सकारात्मक योगदान दिएको छ । “पश्चिम एसियामा देखिएको अनिश्चितताबीच पनि उत्पादन र सेवा क्षेत्रले राम्रो प्रदर्शन गरेका छन्। सरकारले कच्चा पदार्थ तथा आपूर्ति व्यवस्थापनमा अपनाएको रणनीतिले पनि अर्थतन्त्रलाई सहयोग पुगेको छ,” उनले भने ।
उनले पश्चिम एसियाको संकट लामो समयसम्म रहन सक्ने र त्यसले कच्चा तेलको मूल्य प्रतिव्यारेल ८० डलरभन्दा माथि राख्न सक्ने चेतावनी दिए । यसले विश्वव्यापी माग र भारतको निर्यात वृद्धिमा असर पार्न सक्ने उनको भनाइ छ । पहिलो त्रैमासमा उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्र ९.२ प्रतिशतले विस्तार भएको छ भने स्थिर पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन–जीएफसीएफ) ११.९ प्रतिशतले बढेको छ। यसले लगानी गतिविधिमा उल्लेख्य सुधार आएको संकेत गरेको छ।
कृषि क्षेत्र ३.६ प्रतिशतले बढ्दा विद्युत् तथा उपयोगिता सेवा क्षेत्र ८.९ प्रतिशतले विस्तार भएको छ। निर्माण क्षेत्रको वृद्धि ७.७ प्रतिशत रहेको छ। यद्यपि, खानी तथा उत्खनन क्षेत्र भने २.४ प्रतिशतले संकुचित भएको छ । वास्तविक कुल मूल्य अभिवृद्धि (जीभीए) ८.२ प्रतिशतले बढेर ७३.८२ लाख करोड भारतीय रुपैयाँ पुगेको छ ।
यो वृद्धि भारतीय रिजर्भ बैंक (आरबीआई) ले गरेको ७ प्रतिशतको प्रक्षेपणभन्दा माथि रहेको छ। तर अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा संशोधित ८.६ प्रतिशतको वृद्धिदरभन्दा भने केही कम हो । आर्थिक वृद्धिपछि प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई भारतीय नागरिकको सामूहिक शक्ति र परिश्रमको प्रतिफल भन्दै प्रशंसा गरेका छन्। सामाजिक सञ्जाल एक्समा भिडियो सन्देश जारी गर्दै उनले विश्वभर युद्ध, भूराजनीतिक तनाव र आपूर्ति शृंखलामा अवरोध कायम रहे पनि भारतले तीव्र आर्थिक प्रगति जारी राखेको बताए।
“७.८ प्रतिशतको आर्थिक वृद्धिदरले देशभर खुसी छाएको छ। म देशवासीको संकल्प र मेहनतका लागि बधाई दिन्छु। यो हाम्रो सामूहिक शक्तिको प्रतिबिम्ब हो,” मोदीले भने । उनले विश्व अहिले विभिन्न द्वन्द्व र संकटले घेरिएको उल्लेख गर्दै कोभिड–१९ महामारीपछि विश्व अर्थतन्त्रले अझै पूर्ण स्थिरता प्राप्त गर्न नसकेको बताए। “चारैतिर युद्धका समाचार छन्, विश्व संकटले घेरिएको छ। आपूर्ति शृंखला गम्भीर रूपमा प्रभावित भएको छ। सन् २०२० को कोभिडकालपछि विश्वमा स्थायित्व दुर्लभ बनेको छ। तर पनि भारत तीव्र गतिमा अघि बढिरहेको छ,” उनले भने।
मोदीले आर्थिक वृद्धिलाई लिएर विपक्षी दलमाथि समेत कटाक्ष गर्दै देशमा निराशा फैलाउने प्रयास सफल नभएको दाबी गरे । यता, अर्थमन्त्री निर्मला सीतारमणले सरकारका आर्थिक सुधार कार्यक्रम र चुस्त आर्थिक व्यवस्थापनका कारण सकारात्मक नतिजा आएको बताएकी छन् ।

