काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–चिलिमे क्षेत्रमा आएको भीषण बाढीका कारण चिलिमे जलविद्युत केन्द्रमा कार्यरत ६ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । चिलिमे जलविद्युत कम्पनीले आपत्कालीन अवस्थामा आवश्यक सहयोग उपलब्ध गराइदिन अनुरोध गर्दै २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको पावरहाउस सुरुङ क्षेत्रमा कार्यरत ६ जना कर्मचारी सम्पर्कविहीन रहेको जनाएको हो ।
बाढीबाट चिलिमे जलविद्युत केन्द्रको विद्युतगृहमा पूर्णरुपमा क्षति पुगेको कम्पनीले जनाएको छ । क्षतिका कारण केन्द्र तत्काल सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको उल्लेख गरिएको छ । त्यस्तै, चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा स्थापना भएको १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर प्लान्टमा समेत पूर्णरुपमा क्षति पुगेको कम्पनीले जनाएको छ ।
बाढीका कारण उक्त क्षेत्रमा सडक सञ्जाल, विद्युत, सञ्चार सेवा, स्थानीय बस्ती तथा अन्य सार्वजनिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ । आवतजावत, सञ्चार सम्पर्क तथा उद्धार कार्य सञ्चालनमा समेत कठिनाइ भइरहेको कम्पनीले जनाएको छ ।

