काठमाडौं । १४ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पर्खिरहेको सारथी केबल इन्डस्ट्रिज लिमिटेडले ६८ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । कम्पनीले गत वर्ष उक्त रकम बराबरको आम्दानी गरेको हो । कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८२/८३ (२०२६) मा २६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष (२०२५)मा कम्पनीले ५४ करोड २० लाख रुपैयाँ, २०२४ मा ३८ करोड ४० लाख, २०२३ मा ५१ करोड र २०२२ मा ६५ करोड ३० लाख आम्दानी गरेको थियो ।
आम्दानी बढे पनि कम्पनीले आफ्नो कुल उत्पादन क्षमताको २७ प्रतिशत मात्रै उपयोग गर्न सकेको छ । कम्पनीको वित्तीय जोखिममा सुधार देखाए पनि उत्पादन क्षमता उपयोग, वर्किङ क्यापिटल व्यवस्थापन र कच्चा पदार्थको मूल्यवृद्धि प्रमुख चुनौती रहेका छन् । कम्पनीको सञ्चालन आम्दानी बढे पनि सञ्चालन नाफाको मार्जिन भने घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा १७.५१ प्रतिशत रहेको ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको सञ्चालन नाफा (इबीआइटीडीए) मार्जिन आर्थिक वर्ष २०८२/८३ मा १४.६४ प्रतिशतमा सीमित भएको छ । तामा तथा एल्युमिनियमलगायतका कच्चा पदार्थको लागत बढ्दा सञ्चालन नाफामा दबाब परेको हो । तर वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा मार्जिनमा सुधार आएको छ ।
अघिल्लो आर्थिक वर्षमा २.४४ प्रतिशत रहेको खुद नाफा मार्जिन बढेर ४.९० प्रतिशत पुगेको छ । त्यस्तै, कम्पनीको कुल नगद सञ्चिति २ करोड ६० लाख रुपैयाँबाट बढेर ५ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
वित्तीय जोखिममा सुधार
कम्पनीको वित्तीय जोखिम घटेको संकेत ऋण र स्वपूँजीबीचको अनुपात (गियरिङ रेसियो) मा देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा २.४६ गुणा रहेको गियरिङ अनुपात आर्थिक वर्ष २०८२/८३ को मध्य-जुलाईमा घटेर ०.९२ गुणामा झरेको छ । स्वपूँजी थपिनु र नाफा सञ्चितिमा वृद्धि हुनु यसका प्रमुख कारण रहेको उल्लेख छ ।
त्यस्तै, ब्याज भुक्तानी क्षमता पनि उल्लेख्य रुपमा सुधारिएको छ । अघिल्लो आर्थिक वर्षमा ०.९५ गुणा रहेको ब्याज कभरेज अनुपात बढेर २.२१ गुणा पुगेको छ । ऋणको साँवा तथा ब्याज भुक्तानी गर्ने क्षमता मापन गर्ने ऋण सेवा कभरेज अनुपात पनि १.२७ गुणाबाट बढेर २.२४ गुणा पुगेको छ ।
यी सूचकले कम्पनीको ऋण व्यवस्थापन तथा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा सुधार आएको देखाउँछन् । यद्दपि, आम्दानीको वृद्धिलाई दिगो नाफामा रुपान्तरण गर्न उत्पादन लागत नियन्त्रण र क्षमताको प्रभावकारी उपयोग आवश्यक देखिन्छ ।
उत्पादन क्षमताको २७ प्रतिशत मात्रै उपयोग
सारथी केबल भुसाल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको कम्पनी हो । कम्पनीले तामा तथा एल्युमिनियममा आधारित विभिन्न प्रकारका तार र केबल उत्पादन गर्दै आएको छ । यसको उत्पादनमा मल्टिस्ट्र्यान्ड फ्लेक्सिबल वायर, पावर केबल, एल्युमिनियम कन्डक्टर स्टिल–रिइन्फोर्स्ड (एसीएसआर) कन्डक्टर, एरियल बन्च्ड केबल (एबीसी) तथा टेलिकम्युनिकेसन केबल समावेश छन् । कम्पनीले आर्मर्ड र अनआर्मर्ड दुवै प्रकारका पावर केबलसमेत उत्पादन गर्छ ।
कम्पनीको वार्षिक उत्पादन क्षमता २ हजार ७०९ मेट्रिक टन छ । तर, आर्थिक वर्ष २०८१/८२ मा क्षमताको २३ प्रतिशत मात्रै उपयोग भएकोमा आर्थिक वर्ष २०८२/८३ मा पनि यो अनुपात २७ प्रतिशतमा सीमित छ । दीर्घकालीन विस्तारको लक्ष्यअनुसार प्लान्टको क्षमता हालको उत्पादनको तुलनामा बढी रहेको छ । त्यसैले उत्पादन क्षमता विस्तारसँगै बजार माग बढाउने र उपलब्ध क्षमताको प्रभावकारी उपयोग गर्ने विषय कम्पनीका लागि महत्त्वपूर्ण हुनेछ । क्षमता उपयोग बढ्न नसके उत्पादन लागतमा अपेक्षित कमी ल्याउन र आम्दानीको वृद्धिलाई नाफामा रुपान्तरण गर्न कठिन हुन सक्छ ।
वर्किङ क्यापिटलमा दबाब
केबल उत्पादनका लागि तामा तथा एल्युमिनियमजस्ता कच्चा पदार्थ आयात गर्नुपर्ने र सहज उत्पादन सञ्चालनका लागि पर्याप्त मौज्दात राख्नुपर्ने भएकाले कम्पनीको व्यवसायमा वर्किङ क्यापिटलको ठूलो भूमिका छ । कच्चा पदार्थ मुख्यतः प्रतीतपत्र (एलसी) मार्फत आयात गर्नुपर्ने भएकाले मौज्दात व्यवस्थापन र नगद प्रवाह कम्पनीका लागि महत्त्वपूर्ण पक्ष हुन् ।
कम्पनीको औसत मौज्दात अवधि आर्थिक वर्ष २०८१/८२ मा ५७ दिन रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर १२५ दिन पुगेको छ । यसको अर्थ कच्चा पदार्थ तथा तयारी वस्तुमा लगानी भएको रकम लामो समयसम्म मौज्दातमा बाँधिने अवस्था देखिएको छ । यद्दपि, ग्राहकबाट रकम उठाउने औसत अवधि २०४ दिनबाट घटेर १६९ दिनमा आएको छ । बजारमा प्रतिस्पर्धी रहन कम्पनीले लचिलो उधारो नीति अपनाएकाले ग्राहकबाट रकम उठाउन अझै लामो समय लाग्ने गरेको विवरणमा उल्लेख छ ।
त्यस्तै, आपूर्तिकर्तालाई भुक्तानी गर्ने औसत अवधि ६८ दिनबाट बढेर ९७ दिन पुगेको छ । यसका बाबजुद कम्पनीको सञ्चालन चक्र १९४ दिनबाट बढेर १९७ दिन पुगेको छ । मौज्दातमा रकम लामो समयसम्म बाँधिने र ग्राहकबाट भुक्तानी उठाउन समय लाग्ने भएकाले कम्पनीलाई दैनिक कारोबार सञ्चालनका लागि पर्याप्त कार्यशील पुँजी आवश्यक पर्ने देखिन्छ ।
कच्चा पदार्थको मूल्यवृद्धिले नाफामा दबाब
कम्पनीको उत्पादन लागतमा तामा तथा एल्युमिनियमको ठूलो हिस्सा रहने भएकाले अन्तर्राष्ट्रिय बजारमा यी धातुको मूल्यमा हुने उतारचढावले प्रत्यक्ष प्रभाव पार्छ । आर्थिक वर्ष २०८२/८३ मा कच्चा पदार्थको औसत लागत अघिल्लो वर्षको तुलनामा करिब ६० प्रतिशत बढेको छ । कच्चा पदार्थको लागत बढेको अनुपातमा कम्पनीले तयारी वस्तुको बिक्री मूल्य समायोजन गर्न नसके नाफाको मार्जिनमा थप दबाब पर्न सक्छ ।
आर्थिक वर्ष २०८२/८३ मा इबीआईटी मार्जिन घट्नुले पनि लागत वृद्धिको दबाब देखाएको छ । त्यसैले लागत नियन्त्रण, बिक्री मूल्य समायोजन र मौज्दात व्यवस्थापन कम्पनीको आगामी वित्तीय कार्यसम्पादनका लागि महत्त्वपूर्ण रहनेछन् ।
अनुभवी प्रवर्द्धक, तर आईपीओ रकमको उपयोग महत्त्वपूर्ण
कम्पनी भुसाल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको छ । व्यापार, उत्पादन, आतिथ्य तथा सेवा क्षेत्रमा समूहका अन्य कम्पनीको उपस्थिति रहेकाले प्रवर्द्धकबाट व्यावसायिक सहयोग प्राप्त हुने अपेक्षा रेटिङ विवरणमा गरिएको छ । अंकित भुसालको अध्यक्षतामा रहेको तीन सदस्यीय सञ्चालक समितिको मार्गदर्शनमा कम्पनी सञ्चालन भइरहेको छ ।
भुसालसँग समूहमा आठ वर्षभन्दा बढीको अनुभव रहेको र अन्य सञ्चालकसँग पनि सम्बन्धित क्षेत्रमा करिब एक दशकको अनुभव रहेको छ । दैनिक सञ्चालनमा प्राविधिक रुपमा योग्य र अनुभवी व्यवस्थापन टोली संलग्न छ ।
कम्पनीको आगामी वित्तीय अवस्थाका लागि आईपीओ निष्कासन पनि महत्त्वपूर्ण पक्ष हुनेछ । आईपीओबाट प्राप्त रकम कुन क्षेत्रमा र कति प्रभावकारी रुपमा उपयोग हुन्छ भन्ने विषय कम्पनीको रेटिङ तथा वित्तीय कार्यसम्पादनका लागि संवेदनशील रहने रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङले उल्लेख छ ।
सारथी केबलले ७८ करोड ८० लाख बैंक कर्जाका लागि रेटिङ गराएको छ । यसले ४७ करोड ८० लाख बैंक कर्जाका लागि आइआरएन बीबी र सर्ट ट्रम ३१ करोड कर्जाका लागि आइआरएन ए४ रेटिङ प्राप्त गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्सले जनाएको छ ।


