Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

आन्तरिक ऋण उठाउन सरकारले आज १४ अर्बको ट्रेजरी बिल निष्कासन गर्दै, डिस्काउन्ट रेट एक प्रतिशतभन्दा कम

आन्तरिक ऋण उठाउन सरकारले आज १४ अर्बको ट्रेजरी बिल निष्कासन गर्दै, डिस्काउन्ट रेट एक प्रतिशतभन्दा कम

आर्थिक पत्र
सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउने क्रममा आज १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्कासनका लागि बोलकबोल गर्दैछ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ अर्ब रुपैयाँ बराबरको १८२ दिने र ५ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल निष्कासन गर्न लागेको हो।

    images

    कार्यालयका अनुसार १८२ दिने ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो भने ३६४ दिने ट्रेजरी बिल नयाँ निष्कासन हुनेछ। दुवैको बोलकबोल सोमबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ। ट्रेजरी बिल मंगलबार, कात्तिक १७ गते निष्कासन गरिनेछ।

    सरकारले यसपटक निष्कासन गर्न लागेको कुल रकममध्ये ९ अर्ब रुपैयाँ पुरानो ऋण नवीकरणका लागि हो। बाँकी ५ अर्ब रुपैयाँ भने नयाँ आन्तरिक ऋणका रूपमा उठाइनेछ। यसरी सरकारले छोटो अवधिको ऋणपत्रमार्फत एकातिर परिपक्व हुन लागेको ऋणको व्यवस्थापन गर्दै अर्कोतर्फ नयाँ स्रोत जुटाउन लागेको हो।

    यस निष्कासनमा कुल रकमको १५ प्रतिशत गैरप्रतिस्पर्धी बोलकबोलकर्ताका लागि छुट्याइएको छ। बाँकी रकमका लागि प्रतिस्पर्धी बोलकबोल गर्न सकिनेछ। बोलकबोलकर्ताले ऋण व्यवस्थापन तथा सञ्चालन प्रणाली (डोम्स) मार्फत आवेदन दिनुपर्ने कार्यालयले जनाएको छ।

    ट्रेजरी बिलको ब्याजदर प्रतिस्पर्धी बोलकबोलबाट निर्धारण हुन्छ। लगानीकर्ताले आफूले स्वीकार गर्ने  डिस्काउन्ट रेट प्रस्ताव गर्छन्। सरकारले तोकेको निष्कासन रकमभित्र रहेर प्राप्त प्रस्तावका आधारमा बाँडफाँट गरिन्छ। ट्रेजरी बिलमा लगानीकर्ताले अंकित मूल्यभन्दा कम मूल्य तिरेर खरिद गर्छन् र परिपक्व भएपछि अंकित मूल्य प्राप्त गर्छन्। यी दुई रकमबीचको अन्तर नै लगानीकर्ताको आम्दानी हो।

    यसअघि कात्तिक २६ गते गरिएको १८२ दिने ट्रेजरी बिलको बोलकबोलमा ५ अर्ब रुपैयाँ निष्कासन प्रस्ताव गरिएकोमा ३० अर्ब ८० करोड रुपैयाँ बराबरको माग परेको थियो। यो प्रस्तावित रकमभन्दा ६.१६ गुणा बढी माग हो। तर, सरकारले ५ अर्ब रुपैयाँ नै बाँडफाँट गरेको थियो।

    उक्त बोलकबोलमा न्यूनतम  ०.८९९८ प्रतिशत, भारित औसत  ०.९१४६ प्रतिशत र अधिकतम  डिस्काउन्ट रेट ०.९४९९ प्रतिशत कायम भएको थियो। यसले सरकारी ट्रेजरी बिलमा लगानीकर्ताले एक प्रतिशतभन्दा कम  डिस्काउन्ट रेटमा समेत लगानी गर्न तयार रहेको देखाउँछ।

    ट्रेजरी बिलमा प्राप्त हुने छुट आम्दानी करयोग्य हुन्छ। प्रतिस्पर्धी बोलकबोलकर्ताले प्रस्ताव गरेको रकमको २.५ प्रतिशत धरौटी जम्मा गर्नुपर्नेछ। नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भने गैरप्रतिस्पर्धी बोलकबोलमा सहभागी हुन पाउने छैनन्।

    बोलकबोलमा सफल भएका बैंक तथा वित्तीय संस्थाले निष्कासन मितिमा आफ्नो राष्ट्र बैंकस्थित सञ्चालन खातामा आवश्यक रकम कायम गर्नुपर्नेछ। अन्य सफल बोलकबोलकर्ताले भने कात्तिक १७ गते दिउँसो १ बजेसम्म तोकिएको खातामा रकम जम्मा गर्नुपर्नेछ। तोकिएको समयमा रकम जम्मा नगरेमा बोलकबोल रकमको २.५ प्रतिशत धरौटी जफत हुने व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार