काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोर्खा र लमजुङका लाखौं जनसंख्या लाभान्वित हुने पन्थहिटी -कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको मंगलबार शिलान्यास गर्नेछन् । पालुङटार नगरपालिकाको विमिरेमा बिहान ११ बजे हुने शिलान्यासका लागि उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समेत गोर्खा जाने कार्यक्रम छ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यो योजना कार्यन्वयनमा विशेष पहल गरेको थियो । यो योजना तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य लिएको बताइएको छ।
पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साँढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैया छ।
वूड हिल(लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्नेगरी ठेक्का पाएको यो सडक योजनाबाट गोर्खाको पालुङटार नगरपालिका एवम् सिरानचोक, छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दुधपोखरी नगरपालिकाका विभिन्न वडाबासीहरू लाभान्वित हुनेछन्।
योजनाबाट गोर्खा र लमजुङका गरी चार लाख ३० हजार भन्दा बढी जनसंख्या लाभान्वित हुने अनुमान सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र योजना कार्यालय गोर्खाले गरेका छन्।

