Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

म्याग्दी नदीमा दुईवटा मोटरेबल पुल निर्माण

म्याग्दी नदीमा दुईवटा मोटरेबल पुल निर्माण

आर्थिक पत्र
बुधवार, बैशाख १३ २०८०
  • म्याग्दी । मंगला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण गरिएको छ । 

    सडक डिभिजन कार्यालय बागलुङले मंगला–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४ फापरखेतबाट मङगला गाउँपालिका–३ पखेर जोड्ने पक्की मोटरेबल पुल निर्माण गरेको हो । 

    पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुँदै ठूलो भूगोल र बस्ती भएका बरंजा र अर्मन सिधा सडक सञ्जालमा जोडिएका मंगला गाउँपालिकाका–३ का वडाध्यक्ष याम रोकाले बताए ।

    “पखेरको पुलले जिल्ला सदरमुकाम बेनी र पोक–माटेबगरको पुलले गाउँपालिकाको केन्द्र बाबियाचौरलाई तीन वडासँग सिधा यातायात सम्पर्क स्थापित गरेको छ”, उनले भने, “घुमाउरो सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।” 

    बरंजाका बासिन्दालाई म्याग्दी नदी पारि रहेको बाबियाचौर गाडी चढेर पुग्न बेनीबजार पुगेर ४० किलोमिटरभन्दा बढी घुमाउरो यात्रा गर्नुपर्ने समस्या थियो । 

    मंगला गाउँपालिकाको वडा नं ३ र ४ बरंजा तथा वडा नं ५ अर्मनका दुई हजार ५००भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । मंगला गाउँपालिका–५ अर्मनका वडाध्यक्ष भूपेन्द्र खत्रीले औपचारिक हस्तान्तरण हुन बाँकी भए पनि पुलबाट यातायातका साधन आवतजावत गरेका बताए ।

    “म्याग्दी नदीबाट जोखिम मोलेर सवारीसाधन तार्नुपर्ने समस्या हटेको छ”, उनले भने, “स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज निकासी, दैनिक उपभोग्य र खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा सहज भएको छ ।” 

    भरियामार्फत झोलुंगे पुल तारेर सामान वारपार गराउनुपर्ने बाध्यता हटेको छ । अर्मन र बरंजामा सडक निर्माण भए पनि मोटरेबल पुल नहुँदा स्थानीयवासी यातायात सुविधाबाट बञ्चित थिए ।

    बिरामीलाई समयमै अस्पताल पु-याउन सहज भएको पखेरका बासिन्दा समबहादुर थापाले बताए । पुल बनेसँगै पखेरमा यसअघि प्रतिमिटर ४० हजार रुपैयाँका दरले बिक्री हुने घडेरीको मूल्य बढेर प्रतिमिटर दुई लाख रुपैयाँ पुगेको उनले बताए । 

    तीन पिलर भएको माटेबगर–पोक ८० र चार पिलर भएको फापरखेत–पखेर जोड्ने पुल ११७ मिटर लामो छन् । दुईवटै पुल ११–११ मिटर फराकिला छन् । रङरोगन भइसकेको पुललाई जोड्ने पहुँचमार्गलाई अन्तिम रुप दिने काम भइरहेको छ । 

    दुईवटै पुल निर्माणका लागि विसं २०७५ पुसमा लुम्बिनी–प्राकृतिक जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच २२ करोडमा ठेक्का सम्झौता भएको थियो । विसं २०७७ पुस २५ मा सम्पन्न गर्ने लक्ष्य थियो । 

    निर्माण व्यवसायीले पर्याप्त उपकरण, मजदुर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसक्नु, कोरोना भाइरसको महामारी र बाढीका कारण लक्ष्यभन्दा दुई वर्ष ढिला गरी पुल निर्माण सकिन लागेको हो । 

    विसं २०७८ माघमा फापरखेत–पखेर पुल ढलानका क्रममा फर्मासँगै पुल दबेपछि विवाद र छानबिन गर्नुपर्दा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधिको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार