Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

विदेश जान बाध्य नेपाली युवाहरुमा अपील

विदेश जान बाध्य नेपाली युवाहरुमा अपील

आर्थिक पत्र
बिहिवार, चैत्र १७ २०७८
  • आफ्नै देशको उर्वर भूमी, अमृत जस्तो हावापानी, स्वर्ग जस्तो सुन्दरता, अनुपम आत्मियताका आफन्तजन, र परिवारको असिमित माया यी सबै छोडेर विदेशिनु तपाई हाम्रो बाध्यता थियो। मध्यपूर्वको बालुवामा जीवन घोट्न बाध्यहरुको मात्रै होइन, "रहर"ले डिभि लट्री भर्नेहरुको पनि बाध्यतै हो किनकि देशमा काम गर्ने सहज बाताबरण, आफ्नो ल्याकत अनुसारको अवसर, सामाजिक र पेशागत मर्यादाको सुरक्षा जस्ता कुरा पाउने हो भने मान्छे देश छोडेर विदेशमा घुम्न त जाला तर जिन्दगी नै विताउने गरी पराइदेशमा जान कोही पनि चाहन्न।

    पढेलेखेका वा पढ्ने उद्देश्यले विदेशिएका युवाहरु पनि राजनैतिक वा प्रशाशनिक हस्तक्षेप नभई आ-आफ्ना ल्याकत अनुसारका अवसर पाएको भए; योग्यता, क्षमता, र कामको मुल्यांकनका आधारमा आर्थिक, पदीय, र सामाजिक हैसियतको उन्नति हुने वातावरण भएको भए; नेता र हाकिमको चाकरी गर्नु नपर्ने भए; घुस खान/ख्वाउन नपर्ने भए; परिवारको पठनपाठन र औषधी उपचारको सरल पहुंच भएको भए; नातावाद कृपावाद होइन काम अनुसारको मुल्यांकन र अवसर पाइने भए; न्याय र सुरक्षाको ग्यारेण्टी भएको भए; कोही पनि विदेशिन चाहन्न। घुम्न जाला तर आजिवन विदेशिन चांहदै चाहन्न। तर हामी विदेशिन बाध्य भयौं। किन?

    हामीले देशमा माथि भनिएको वातावरण बनाउन सकेको प्रयास गर्यौं। पंचायती निरंकुशतलाई हटायौं, अहिलेका यी नेताहरुलाई राजनीतिको तालाकुची सुंपियौं। अहिलेकै पार्टी र नेताहरु तिसौं वर्षदेखि सत्तामा छन्। तर तिनले यस्तो वातावरण निर्माणमा पटक्कै मेहनत गरेनन्। बरु ०४६ सालको आन्दोलन पछाडि यस्तो अवस्था बन्यो कि सत्ताले पासपोर्ट बाँडेर युवाहरुलाई विदेश निर्यात गर्ने योजना नीति तथा कार्यक्रममै घोषणा गर्यो। यता सहरतिर गिरिजा-देउवाहरुले उद्योगधन्दा सिध्याएर सहरका मजदुरलाई विदेश लखेटे। राजनीति र प्रशासनमा कब्जा जमाएर अरु राजनैतिक विचारका मानिसलाई लखेटे। उता प्रचण्ड-बाबुरामहरु शान्तिपूर्ण राजनीतिको बाटो खुल्ला हुंदाहुंदै आफू भारतमा बसेर यता उर्जाशील सोझा युवाहरुलाई जंगल पठाई जनतामा अपहरण, मारकाट, लुटमार मच्चाएर गाऊंका युवालाई विदेश भाग्न या काटमारमा संलग्न हुन बाध्य गरे।


    प्रगतिशिल शिक्षा, सामाजिक न्याय सहितको प्रतिस्पर्धा र स्वाबलम्बी राष्ट्रिय पुंजी निर्माणका गफ गर्ने एमालेका नेताहरुले आफ्नै मानिसहरु मार्फत एनजिओ, निजि स्कूल, र विभिन्न बहानामा खोलिएका उपभोक्ता समितिहरु मार्फत दलाल पुंजिवादलाई बढावा दिए। राजनीति र प्रशासनमा नेताका आफन्त र धुपौरेहरुको बिगबिगी खडा गरियो।

    इमान्दार, मेहनति, र क्षमतावान मानिस होइन, आफ्ना धुपौरे र आफन्तहरुलाई अवसर दिइयो। राजनैतिक नेतृत्व सिमित नेताहरुकै सिण्डिकेटले अकण्टक कब्जा राख्ने व्यवस्था गरियो। असल र सक्षम मानिसहरुलाई न त जमीनमा उभिएन दिइयो, न त अगाडि बढ्न नै दिइयो। जताततै धूर्तहरुले नै श्रोत र सत्तामा कब्जा गरे। जनतालाई न काम गरिखाने वातावरण दिइयो, न तिनलाई आफ्ना सन्तानलाई गतिलो शिक्षा दिने अवसर दिइयो, न तिनले राज्य हुनुको कुनै सकारात्मक अनुभूति पाए। बरु राज्य र राजनीति त जनताका पिडाका कारक बने। जंगलबाट उपध्रो मच्चाएर सिंहदरबार पुगेको माओवादीले सिंह दरबारबाट झन बढी उपध्रो मच्चायो।

    यस्तो अवस्थामा तपाईं हामी विदेशिएका हौं। तर बिडम्बना आफ्नो रगत घोटेर कमाएको दुई चार पैसो पनि आफू र आफ्ना परिवारको छाक काटेर यिनै नेतालाई चुनाव जिताउन, विदेश घुमाउन हामी पैसा खर्च गर्छौं, तिनैसंग कुममाकुम जोडेर खिचेको फोटो सामाजिक संजालमा टांसेर अरुलाई सामाजिक प्रतिष्ठा देखाउन मरिहत्ते गर्छौं। हामी विवेक भएका मान्छे हौं कि के हौं ? जसले हामीलाई यो हालतमा पुर्यायो, उसैको पूजा गर्न किन अभिषप्त छौं हामी ? हामी जस्ता "गौप्राणी" भेटे पछि शासन गर्नेले मस्ति किन नगरोस् ? अब के गर्ने?

    हामीले राजनैतिक व्यस्था धेरै बदल्यौं । जहानिया राणा शासन, राजाको पंचायति निरंकुशता, राजासहितको प्रजातन्त्र, र राजा बिनाको गणतन्त्र। आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेसदेखि, प्रगतिशील भन्ने एमाले हुंदै धुमधमाकाको माओवादीसम्म। अनि एक्कासौ शताब्दीको समाजमा मध्ययुगीन जातीय राजनीतिको रडाको मच्चाउने जातिवादी पार्टीसम्म। "एकात्मक" राज्यदेखि संघियतासम्म। कुन व्यवस्था ल्याउन बांकी छ हामीले? यति धेरै व्यवस्था फेरिसक्यौं। तर "जुन जोगी आए पनि कानै चिरेका" भने झैं सबै उस्तै किन भए होलान् ? अब कुनै नयां पार्टी आए भने ति राम्रा होलान् कि ?

    यी सबै व्यवस्था उस्तै हुनुकै चुरो कुरो एउटै छ- नेतृत्व निर्माणको गलत परिपार्टी। पार्टी सत्ता र राजकीय सत्तामा नेतृत्व चयनको गलत विधि। हेर्दा फरक देखिन्छ, तर हामीले ल्याएका सबै व्यवस्थामा नेतृत्व निर्माणको प्रक्रिया सारमा उस्तै छ- जसले कुनै एउटा व्यक्ति वा समूह वा सिण्डिकेटलाई अकण्टक रुपमा शासक बनाउंछ र तिनै शासकले चुनावमा आफ्ना मान्छेलाई उम्मेदवार तोक्छन्। र जनताले आफ्ना प्रतिनिधिलाई होइन नेताका प्रतिनिधिलाई भोट हाल्न बाध्य छन्। नेताले चुनाव हारे पनि फरक पर्दैन, जसरी पनि ऊ शासक बन्न आइहाल्छ।

    संसारको अनुभवले पनि सिकाएको छ कि नेतृत्व निर्माणमा गतिशिलता सहितको पूर्ण लोकतान्त्रिक विधिको स्थापनाले नै राजनीतिमा गतिशीलताता, योग्य पात्रहरुको आकर्षण, र खराबपात्रहरुको बहिर्गमनको ग्यारेन्टी गर्न सक्छ। यस्को निम्ति जनमनोविज्ञानको निर्माण गरेर पार्टी या राज्यको नेतृत्व निर्माणमा सांचो लोकतान्त्रिक विधि स्थापना गर्न, र नेतृत्वलाई आजीवन होइन, आवधिक बनाउने परिपाटी अबलंबन गर्न हरेक पार्टीलाई बाध्य बनाउनु पर्छ।

    चुनावको उम्मेदवार नेताले हैन, जनताले छान्ने व्यवस्था गर्नुपर्छ। विदेशमा बसेका युवाहरुले आफ्नो परिवार, आफन्तजन, र समाजलाई त्यसको निम्ति सचेत गराउनुपर्छ। आ-आफू नजिक रहेका भनिएका नेता वा दलहरुलाई त्यस्तो परिपार्टी स्थापनाको निम्ति दबाब दिनुपर्छ र त्यसो नगरेसम्म कुनै खालको सहयोग नगर्ने, भेटघाटसम्म नगर्ने घोषना गर्नुपर्छ। र त्यस्तो परिपार्टी निर्माणमा भूमिका नखेल्नेलाई चुनावमा हराउने अभियान चलाउनु पर्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार